नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले २ वैशाखमा निर्वाचन कार्यतालिका प्रकाशित गर्ने र ४ वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको हो।
संयोजक रसाइलीका अनुसार दलको नेता चयनका लागि सर्वसहमतिको प्रयास गरिनेछ। सहमति नजुटे प्रतिस्पर्धाका आधारमा नेता चयन गरिनेछ। निर्वाचन समितिमा राजु कटुवाल र मुना भुसाल सदस्य छन्।
संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन्। मुख्य दाबेदार नेता केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद हुन् । प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ । मोहन आचार्य, भरत खड्का, निस्कल राईलगायतको पनि चर्चा छ ।
कांग्रेस संसदीय दलको विधानमा नेता चयनसम्बन्धी दफा ५ को उपदफा (१) र (२)मा व्यवस्था छ । उपदफा १ मा ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ र उपदफा २ मा ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने’ उल्लेख छ ।
२०६४ को पहिलो संविधान सभादेखि कांग्रेसमा दलको नेता सर्वसम्मत रूपमा नभएर निर्वाचनबाट चयन हुँदै आएका छन् ।