बहुमूल्य जडीबुटी खेती र त्यसको सचेतना अभिवृद्धि गर्न भन्दै सल्यानमा टिमुर कम ब्याडमिन्टन प्रतियोगिता गरिएको छ । वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसको अवसरमा कपुरकोट पालिकस्तरीय खुला टिमुर कम ब्याडमिन्टन प्रतियोगिता गरिएको हो । सल्यान जडीबुटी उत्पादनका लागि परिचित जिल्लाका रूपमा रहेको छ ।
स्थानीय स्तरमा पाइने बहुमूल्य जडीबुटी विशेषगरी टिमुरप्रति जनचेतना अभिवृद्धि गर्ने र सल्यानको पहिचानलाई राष्ट्रिय स्रतमा स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख तथा वैज्ञानिक अधिकृत डा. मित्र पाठकले जानकारी दिए। खेलकुदलाई माध्यम बनाएर स्थानीय स्रोतको प्रचारप्रसार गरिएको उनकाे भनाइ छ । उनले भने, ‘जडीबुटीको सचेतना, संवर्द्धन र खेलकुदलाई पनि सँगसँगै लान सकिन्छ र खेलका माध्यमबाट पनि जडीबुटीको प्रवर्द्धन गर्न सकिन्छ भनेर विगत चार वर्षदेखि कार्यक्रम गर्दै आइरहेका छौँ ।’
खेलकुद र जडीबुटी दुवैको महत्त्व बुझाउन यसप्रकारको प्रतियोगिता निकै उपयोगी हुने डा. पाठकले बताए। सल्यान टिमुर खेतीको निकै उर्वरभूमि र सल्यानका किसानहरूको नगदेबालीकै रूपमा रहेकाले टिमुरको पहिचान फैलाउन पनि यो वर्ष टिमुर कप प्रतियोगिता गरिएको उनको भनाइ छ । उनका अनुसार जिल्लाको बहुमूल्य जडीबुटीको रूपमा रहेका टिमुरको औषधीय गुणको प्रचाप्रसार तथा यसको महत्त्वबारे सचेतना फैलाउन खेलकुदलाई माध्यम बनाइएको हो ।
यसअघि कर्णाली प्रदेशमा मात्र पाइने काँकडसिंग संरक्षणको सन्देश दिन काँकडसिंगे कम प्रतियोगिता आयोजना गरिएको थियो । शनिबार कपुरकोट गाउँपालिका– ५, रिममा सम्पन्न प्रतियोगितामा ४० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा सुवास हमाल र भुवन डाँगीको जोडी प्रथम, सुरेन्द्र पुरी र सुशील बोहराको जोडी द्वितीय र खलबहादुर घर्ती र यम महतराको जोडी तृतीय भएको थियाे ।