मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर्राष्ट्रिय मापदण्डको सलाइन पानी उद्योग सञ्चालनमा आएको छ । एक अर्बभन्दा बढी लगानीमा ‘एलेक्सा लाइफसाइन्सेज’ नामक सलाइन पानी उत्पादन उद्योग शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सलाइन पानी उद्योगको विधिवत् उद्घाटन गरेका हुन् । दिनेश ठाकुर र रञ्जित भगत सञ्चालक रहेको यो सलाइन उद्योगमा जर्मन प्रविधिको अत्याधुनिक मेसिन प्रयोग गरिएको छ ।
उद्योगले हाल पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’अन्तर्गत एक सय एमएलदेखि तीन हजार एमएलसम्मको सलाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा एकदेखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधि उत्पादन गर्ने योजना रहेको उद्योगका निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।
उद्योगले हाल एक सय ५० जनलाई प्रत्यक्ष रोजगारी दिएको छ । सबैखाले औषधिको ठुलो हिस्सा विदेशी कम्पनीहरूको कब्जामा रहेका वेला एलेक्सा लाइफसाइन्सेजको सञ्चालनले औद्योगिक र स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको वरिष्ठ मुटुरोग विशेष भगवान कोइरालाले बताए । उनले भने, ‘नेपालमै सलाइन पानी उत्पादन गर्ने यो उद्योगले आयातमा निर्भरता घटाउनुका साथै मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउनेछ ।’