राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम चैत २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिले सम्बोधन गर्ने तय भएकाले बैठकमा सबै सदस्यको उपस्थितिका लागि आह्वान गरिएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा छ ।
उपसभामुखको निर्वाचन पनि आजै
यसैगरी उपसभामुखको निर्वाचन पनि आजै हुने भएकाे छ । आज नेपाली संसद्ले इतिहासकै कान्छी उपसभामुख पाउने भएको छ । श्रम संस्कृति पार्टीकी २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चित भएको छ । झन्डै दुईतिहाइ सदस्य रहेको रास्वपाले समर्थन गरेसँगै उनको उपसभामुख पक्का भएको हो । यसको औपचारिक घोषणा भने शुक्रबारको प्रतिनिधिसभा बैठकमा हुने निर्वाचनपछि हुनेछ ।
प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् । प्रतिनिधिसभामा रास्वपा दुईतिहाइनजिक छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच सांसद छन् ।
उपसभामुख चयन र राष्ट्रपतिको सम्बोधनसँगै संसद् अधिवेशन अन्त्य
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुनेछ । त्यसपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । त्यससँगै संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्यको घोषणा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।