भारतका तीन राज्य आसाम, केरलम र पुडुचेरीमा बिहीबार विधानसभा चुनाव सम्पन्न भयो । एकल चरणमा भएका ती विधान सभाको मतगणना भने तमिलनाडु र पश्चिम बंगालको मतदानपछि एकै दिन मे ४ मा गरिनेछ । विधान सभामा आसामका १२६ सिट, केरलमको १४० र पुडुचेरीका ३० सिट छन् । अब तमिलनाडुमा अप्रिल २३ र पश्चिम बंगालमा अप्रिल २३ र २९ मा मतदान हुने समयतालिका छ ।
पाँचैवटा राज्यको मतपरिणाम मे ४ पछि आउन थाल्नेछ । यी चुनावमा अभूतपूर्व सहभागिता रहेको भारतको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दिउँसो ३ बजेसम्म आसाममा ७५.९१ प्रतिशत, पुडुचेरीमा ७२.४० प्रतिशत र केरलममा ६२.७१ प्रतिशत मतदाताले मत हालेको पाइएको थियो ।
केरलममा मुख्यतः सत्तारुढ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) नेतृत्वको ‘लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडिएफ)’ र विफक्षी युनाइटेड डेमात्रेटिक फ्रन्ट (युडिएफ)बिच बलियो प्रतिस्पर्धा हुने ठानिएको छ । राज्यमा दशकौँदेखि सिपिआइ (एम) र कंग्रेसको नेतृत्वमा रहेको गठबन्धनको पालैपालोजस्तो सरकार बन्ने गरेको छ ।
तथापि, पछिल्लो समय भाजपाको नेतृत्वमा रहेको एनडिएले राज्यमा भोट हिस्सा बढाउँदै लगेको छ । उता उत्तरपूर्वी राज्य आसाममा भने कंग्रेसले सत्तारुढ भाजपाको नेतृत्वमा रहेको एनडिएलाई चुनौती दिन ६–दलीय गठबन्धन बनाएको छ । तथापि, हालसम्म बलियो देखिएको भाजपाले जितमार्फत लगातार तेस्रो कार्यकाल शासन गर्ने प्रयास गर्नेछ ।
उता तुलनात्मक सानो राज्य पुडुचेरीको विधानसभा चुनावमा भने मुख्य प्रतिस्पर्धा सत्तारुढ एनडिए कंग्रेस–द्रमुक गठबन्धनबिच हुने ठानिएको छ । तमिल अभिनेता विजयको तमिलगा वेत्री कझगम (टिभिके) को प्रवेशले प्रतिस्पर्धा त्रिकोणीय बन्न सक्ने केहीले प्रक्षेपण गरेका छन् । अप्रिलमा चुनाव तोकिएका पाँचै राज्य विधानसभाको कार्यकाल जुन १५ मा समाप्त हुँदै छ ।