चलचित्र ‘बा : एक योद्धा’मा एकसाथ देखिँदै थापा आमा–छोरी

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

अभिनेत्री एवं निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलोपटक एउटै चलचित्रमा देखिने भएका छन्। संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बा : एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो।

विगत दुई सातादेखि छायांकन भइरहेको चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो। यतिवेला काठमाडौंका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन्।

चैत ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिरपरिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको थियो। संगीत र पार्श्व गायनमा दर्जनौँ गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दै छन्। लम्सालले निर्देशन मात्र नभई चलचित्रको कथा र पटकथासमेत आफैँले तयार पारेका हुन्।

यस चलचित्रका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए। शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहने चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्।

चलचित्रको छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

सुझावित समाचार