सर्वाेच्च अदालतको परमादेशअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्ने भएको छ। दुवैजनालाई हाजिरी जमानीमा छाेड्ने प्रक्रिया अघि बढेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।
‘खोजेको वेला उपस्थित हुने गरी उहाँहरूलाई हाजिरी जमानीमा छाेड्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यसको प्रक्रिया अघि बढेको छ।’ थुनामुक्त गरे पनि अनुसन्धान प्रक्रिया भने जारी रहेने प्रहरीले जनाएको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चले गत सोमबार अब म्याद थप नगर्न परमादेश दिएको थियो ।
ओली र लेखक गत १४ चैतमा पक्राउ परेका हुन्। ओली उपचारका लागि अस्पतालमा छन् भने लेखकलाई प्रहरी गणमा राखिएको छ। दुवैजनाको स्वास्थ्य जाँच गरी हाजिरी जमानी कागजमा हस्ताक्षर गरेर छाेड्न लागिएको छ।
जेन–जी आन्दोलनमा लापरबाही गरेर ज्यान लिएको कसुरमा उनीहरू पक्राउ परेका हुन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकसहित सातजनालाई मुद्दा चलाउन सिफारिस गरेको छ। ओली र लेखकबाहेक अन्य सुरक्षाकर्मी र कर्मचारी भएकाले उनीहरूको हकमा थप अध्ययनपछि मात्र प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ।