नेपाल सरकारले अमेरिका र इरानबीच बुधवार भएको दुई साता लामो युद्धविराम सम्झौताको स्वागत गरेको छ । युद्धविरामले पश्चिम एशियामा तनाव न्यूनीकरणतर्फ एक सकारात्मक कदम चाल्दै संवाद, कूटनीति र मतभेदहरूको शान्तिपूर्ण समाधानका लागि अवसर प्रदान गरेको नेपालले स्पष्ट पारेको छ ।
‘नेपालले यस घटनाक्रमलाई क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने दिशामा एक सकारात्मक प्रयासको रूपमा लिएको छ र विवादहरूको शान्तिपूर्ण समाधानप्रति आफ्नो निरन्तर अडान पुनः दोहोर्याउँदछ’ परराष्ट्र मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । परराष्ट्रले पश्चिम एशियामा द्वन्द्वका कारण उत्पन्न मानवीय असरप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकहरूको सुरक्षा, संरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।
पाकिस्तानको पहलमा अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्नै बुधवार सहमत भएका थिए । नेपालले विज्ञप्तिमा पाकिस्तानको नाम भने लिएको छैन । ‘क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति र स्थायित्व प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय समुदायद्वारा गरिने सबै प्रयासहरूमा नेपालले आफ्नो समर्थन कायम राख्नेछ’ परराष्ट्रले भनेको छ ।