काठमाडौंका स्रेस्तेदार कैलालीका न्यायाधीश नियुक्त

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार तीर्थराज भट्टराईलाई न्यायपरिषदले न्यायाधीशमा नियुक्त गरेको छ।

बुधबार बसेको परिषद् बैठकले यस्तो निर्णय गरेको हो। परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईका अनुसार स्रेस्तेदार भट्टराईलाई जिल्ला अदालत कैलालीको न्यायाधीशमा नियुक्त तथा पदस्थापन गर्ने निर्णय गरिएको छ।

बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यलाई उच्च अदालतको अस्थायी इजलास ओखलढुंगामा काजमा खटाउने निर्णय पनि गरेको छ।

त्यसैगरी, सैनिक विशेष अदालतको अध्यक्ष पदका लागि नेपाल सरकारलाई परामर्श दिने निर्णय गरिएको छ। उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारूलाई अदालतको कामकाजसमेत गर्ने गरी तोक्न सिफारिस गरिएको हो।

अर्को निर्णयअनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणको निर्णयउपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय भएको छ।

हाल न्यायपरिषद्को नेतृत्व कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गरिरहेकी छन् भने संघीय कानुनमन्त्री सोबिता गौतम सदस्य रहेकी छिन्। वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी तथा वरिष्ठ अधिवक्ताहरू दामोदर खड्का र महेशकुमार नेपाल सदस्य छन्।

उक्त बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश श्यामकुमार भट्टराईलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउनसमेत सिफारिस गरेको छ।

सुझावित समाचार