वीर पुर्खाहरूको बलिदान र योगदानलाई स्मरण गर्दै हङकङको सान टिनस्थित गोरखा समाधिस्थलमा ‘पुर्खा दिवस’ भव्य रूपमा सम्पन्न भएको छ। हङकङमा रहेका भूतपूर्व सैनिक, कूटनीतिक नियोग, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघसंस्थाहरूको उपस्थितिमा ‘पुर्खा दिवस’ मनाइएको हो।
कार्यक्रममा विशेष गरी बेलायती र भारतीय सेनामा काम गरेर विश्व शान्ति र सुरक्षाका लागि प्राण आहुति दिने गोर्खा सैनिक तथा अन्य सुरक्षाकर्मीहरूको सम्मान गरिएको थियो। गोरखा सिमेट्रिज ट्रष्ट हङकङका सचिव तथा पुर्खा दिवसका संस्थापक देवराज राईले पुर्खाको ईतिहास चर्चा गर्दै सहभागीहरूलाई स्वागत गरेका थिए।
ट्रष्टका अध्यक्ष अमोद राईका अनुसार कार्यक्रममा ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ र इन्डियन गोर्खा भूतपूर्व सैनिक संघ हङकङको सहभागिता थियो। त्यसैगरी, रोयल ब्रिटिश लिजन (हङकङ र चीन शाखा), ब्रिटिश महावाणिज्य दूतावास हङकङ र बेइजिङस्थित ब्रिटिश दूतावासका सहायक रक्षा सहचारीको उपस्थिति थियो। नेपालको तर्फबाट महावाणिज्य दूतावासको समेत सहभागिताले कार्यक्रमको गरिमा बढाएको आयोजकले बताएको छ।
पुर्खाहरूको इतिहास र चिहानहरूको संरक्षणमा जुटेको ‘गोर्खा चिहान ट्रस्ट’ कमनवेल्थ वार ग्रेभ कमिसन, द रोयल ग्रीन ज्याकेट्स् र हङकङ भूतपूर्व सैनिक संघजस्ता संस्थाहरूले पुर्खाहरूको पदचापलाई पछ्याउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।
यसैगरी, सिङ्गापुर प्रहरी बलका भूतपूर्व गोर्खा कन्टिन्जेन्ट, स्काउट एसोसिएसन अफ हङकङ, हङकङ एडभेन्चर कोर्प्स र रोयल कमनवेल्थ सोसाइटीले पनि कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए।