कैलालीको लम्कीचुहा नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाहीबिच विवाद चर्किएको छ। नगर प्रमुखले विरोध जनाएपछि मंगलबार तय भएको प्रादेशिक अस्पतालको अनावरण रोकिएको छ।
मुख्यमन्त्री शाहले बिहान ११ बजे नगर अस्पतालमा प्रादेशिक अस्पतालको बोर्ड राखेर अनावरण गर्ने कार्यक्रम तय भएको थियो। त्यसको विरोधमा नगरपालिकाले बिहानैबाट अस्पतालपरिसरमा डोजर, ट्याक्टर र दमकल तेर्स्याएर राखेको थियो। पालिकासँग सम्झौताविनै प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउन खोजेको भन्दै अनावरण रोक्न नगर प्रमुख शाही आफैँ अस्पताल पुगिन्।
नगर प्रमुखले विरोध जनाएपछि मुख्यमन्त्री शाह अनावरण गर्न गएनन् र कार्यक्रम रोकियो। अनावरण कार्यक्रममा मुख्यमन्त्रीसँगै सामाजिक विकासमन्त्री मेघराज खड्का पनि त्यहाँ जाने तय भएको थियो।
मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेशले लम्कीचुहा अस्पतालमा हालै गठन गरेको व्यवस्थापन समितिले अनावरणका लागि मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई बोलाएको थियो। विरोधका कारण जान उचित नदेखिएपछि मुख्यमन्त्री रोकिएको उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले बताए।
नगरपालिकाले सञ्चालन गरिरहेको लम्कीचुहा अस्पताललाई सुदूरपश्चिम सरकारले प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो। सुरुमा अस्पताल स्तरोन्नतिको प्रक्रियाका कामहरू नगरपालिकाको सहमतिमै भएका थिए। तर, प्रादेशिक अस्पतालमा स्तरोन्नतिको निर्णय, जनशक्तिको संगठन तथा व्यवस्थापन सर्भे (ओएनएम)समेत भएर अस्पताल प्रदेशलाई हस्तान्तरणको अन्तिम प्रक्रियामा विवाद देखिएको हो।
औपचारिक सम्झौताविनै प्रदेशले अस्पताल कब्जा गर्न खोजेको नगर प्रमुख शाहीको आरोप छ। कार्यरत कर्मचारीको व्यवस्थापन, अस्पतालको व्ययभारजस्ता विषयमा सहमति नभइसकेको अवस्थामा प्रदेशले एकलौटी गर्न खोजेको उनले बताइन्। स्थानीय सरकारको स्वामित्वमा रहेको सम्पत्ति हस्तान्तरणजस्तो संवेदनशील विषयमा द्विपक्षीय सहमतिविना प्रदेशले एकलौटी गर्न खोज्नु संघीयताको मर्मविपरीत रहेको उनको भनाइ छ।
‘आज हुने भनिएको प्रादेशिक अस्पतालको बोर्ड अनावरण कार्यक्रम कानुनी रूपमा अवैधानिक र आधारविहीन देखिएकाले सम्पूर्ण सरोकारवाला कर्मचारी, प्रशासन तथा जनप्रतिनिधिलाई यसको विरोधमा उभिन हार्दिक अनुरोध गर्दछु,’ नगर प्रमुख शाहीले बिहानै सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘अधिनायकवाद शैलीमा अस्पताल परिसरभित्र प्रवेश गरी अवैधानिक तवरले ब्यानर टाँस्ने प्रपञ्च गर्न खोजिए अस्पतालको स्वाभिमान र अस्तित्व रक्षाका लागि ठाडो प्रतिवादमा जनताको प्रतिनिधिको हिसाबले म स्वयं उत्रनेछु र यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीले लिनुपर्ने छ।’
मुख्यमन्त्री र मेयरबिचको टकरावले अस्पताल स्तरोन्नति अन्याेलमा परेको छ। यसले अस्पतालको सेवामा असर पर्न सक्ने स्थानीयको चिन्ता छ। नगरपालिकाले गत वर्ष लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउन निर्णय गरेर पठाएपछि प्रदेशले स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएको थियो। संघीय सरकारको समेत स्वीकृतिपछि प्रदेशले ओएनएम गरेर प्रादेशिक अस्पताल बनाउने सबै प्रक्रिया पूरा भएर हस्तान्तरणका वेला विवाद देखिएको हो।
प्रदेशले यो अस्पतालमा हालै व्यवस्थापन समितिसमेत गठन गरेको छ। प्रदेश सरकारले भने सुरुमा स्वीकृति दिएको नगरपालिकाले हस्तान्तरणका वेला विवाद झिकेको जनाएको छ। मुख्यमन्त्री शाह र नगर प्रमुख शाही दुवै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। मुख्यमन्त्री शाहको घर पनि लम्की नै हो। उनीहरूबिचको व्यक्तिगत विवादको असर अस्पतालमा देखिएको स्थानीय बताउँछन्।