धनकुटामा इन्जिनियरसहित तीनजना घुससहित पक्राउ

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियरसहित तीनजना कर्मचारीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ स्थित एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन उनीहरूले सेवाग्राहीसँग विभिन्न बहाना बनाएर दुःख हैरानी दिँदै घुस माग गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठलाई ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

उक्त उजुरीका आधारमा अख्तियारको टोलीले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरेको हो । त्यसैगरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट सोमबार नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।

पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र अन्य सम्बन्धित कागजात बरामद गरिएको आयोगले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सुझावित समाचार