मन्त्रीहरूको वरीयतामा हेरफेर

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रममा व्यापक हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्रीहरूको वरीयता पुनः निर्धारण गरेका हुन्।

नयाँ वरीयताअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले दोस्रो स्थानमा निरन्तरता पाएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल एक स्थान उक्लँदै तेस्रो वरीयतामा पुगेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको वरीयता उल्लेखनीय रूपमा बढेर चौथो स्थानमा पुगेको छ, जबकि गृहमन्त्री सुदन गुरुङ तेस्रोबाट पाँचौँ स्थानमा झरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनील लम्सालको वरीयता घटेर छैटौँमा पुगेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम भने ठुलो फड्को मार्दै १२औँबाट सातौँ स्थानमा उक्लिएकी छिन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी पनि १५औँ बाट आठौँ स्थानमा उक्लिएकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावल ११ औँबाट नवौँमा पुगेकी छन्।

स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री सीता मेहता भने एक स्थान तल झर्दै १०औँमा पुगेकी छिन्। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल आठौँबाट ११औँमा झरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज तिमिल्सिना सातौँबाट १२औँमा झरेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना पनि १०औँबाट १३औँमा पुगेका छन्।

कृषिमन्त्री गीता चौधरीलाई १४औँ वरीयता दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह अन्तिम अर्थात् १५औँ स्थानमा परेका छन्।

सरकारले मन्त्रीहरूको जिम्मेवारी र कार्यसम्पादनलाई ध्यानमा राख्दै वरीयता हेरफेर गरिएको जनाएको छ।

सुझावित समाचार