वडा नम्बर ११ ले सहिद सुरज शाक्य स्मृति अन्तरवडाव्यापी र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ । कामनपा वडा नं. २२ ले आयोजना भएको सात चरणको दुईदिने प्रतियोगितामा च्याम्पियन वडा नम्बर ११ ले सर्वाधिक १३ अंक बनाएको हो । वडा नम्बर ११ ले सर्वाधिक ६ जित र एक बराबरी नतिजा निकालेको थियो ।
च्याम्पियन टोलीमा एफएम क्षितिज भण्डारी, बिजेश राजकर्णिकार, प्रवीर केसी (यू–१६) र राधिका पौडेल (महिला)ले प्रतिस्पर्धा गरेका थिए । आयोजक वडा नम्बर २२ को ‘ए’ उपविजेता बन्यो ।
वडा नम्बर २२ ले सातमध्ये पाँचमा जित, एक बराबरी र एक हारमा खेल्यो । वडा नम्बर २२ बाट सिएम नवीन तण्डुकार, दोस्रो बोर्डमा प्रकाशचन्द्र नेपाल, तेस्रो बोर्डमा यू–१६ का हार्दिक पन्त र चौथो बोर्डमा महिला खेलाडी पूजा भण्डारीले प्रतिस्पर्धा गरेका थिए ।