- प्रधानमन्त्री कपको शीर्ष स्थानमा उक्लिएको आर्मीका अर्जुन साउदले कर्णालीविरुद्ध १२० बलमा १२१ रन बनाए
त्रिभुवन आर्मी क्लबले अर्जुन साउदको शतकीय इनिङ्सको योगदानमा सोमबार प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १३८ रनको फराकिलोअन्तरले हराएको छ । वीरगन्ज क्रिकेट मैदानमा सोमबार पहिलो ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २६८ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा कर्णाली ४२.१ ओभरमा १३० रनमा समेटियो । जितसँगै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले ६ खेलमा पाँच जितका साथ सर्वाधिक ११ अंक जोडेको छ ।
अघिल्लो दिन शीर्ष स्थानमा रहेको स्दुूरपश्चिम १० अंकका साथ दोस्रो स्थानमा झरेको छ । चालू प्रधानमन्त्री कपमा नेपाल पुलिस, लुम्बिनी, मधेश र एपिएफले समान सात अंक बनाएका छन् । रनरेटका आधारमा नेपाल पुलिस तेस्रो, लुम्बिनी चौथो, मधेश छैटौँ र नेपाल एपिएफ सातौँ स्थानमा छन् । आर्मीले कर्णालीलाई हराउँदा ब्याटिङमा अर्जुनको साथ पाउँदा बलिङतर्फ बसिर अहमादले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ७.१ ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । यसैगरी सहाब आलमले पनि कसिलो बलिङ गरेका थिए । उनले नौ ओभरमा १८ रन खर्चेर तीन विकेट हात पारे । सिमर आकाश चन्दले सात ओभरमा दुई मेडन राखी ३७ रन खर्चेर दुई विकेट लिए । कर्णालीले लक्ष्य पछ्याएको इनिङ्समा विपिन शाहीले सर्वाधिक ४० रनको योगदान दिएका थिए । उनले ७० बलमा ६ चौका प्रहार गरे । मध्यक्रमका अर्जुन घर्तीले ५८ बलमा ३२ रन तथा दीपेन्द्र रावतले ४२ बलमा २५ रन जोडेका थिए । सो इनिङ तीनजना ब्याट्सम्यानले रनै बनाउन सकेनन् ।
अर्जुन शतक बनाउने छैटौँ खेलाडी
सिजन २०२५/२६ को प्रधानमन्त्री कपमा अहिलेसम्म ६ ब्याट्सम्यानले शतकीय इनिङ्स खेलेका छन् । छैटौँ शतक बनाउने खेलाडी अर्जुन साउद हुनु । उनले कर्णालीविरुद्ध १२१ रनको योगदन दिएका थिए । यसक्रममा उनले १० चौका र तीन छक्का प्रहार गरे । आर्मीको सुरुवाती ब्याटिङ गतिलो भएन । इनिङ्सको ८.६ ओभरमा आर्मीले चार विकेट गुमाएर ३८ रन जोडेको थियो । त्यसपछि अर्जुन र बसिर अहमादबिच पाँचौँ विकेटका लागि ९९ रनको साझेदारी गर्दै टोलीलाई १३७/५ को स्थितिमा राखे । बसिरले ७० बलमा ४५ रन बनाए । अर्जुनले सन्तोष कार्कीसँग ४३ रनको साझेदारी गरी टोलीलाई ३७.३ ओभरमा १८०–६ को स्थितिमा राखे ।
नरेश साउदले १४ बलमा २० रन बनाए । आर्मीका अन्तिम ब्याट्सम्यानका रूपमा अर्जुन नै आउट भएका थिए । उनी ४७.६ ओभरमा एलबिडब्लू भएका थिए । अर्जुनअघि प्रधानमन्त्री कपमा शतकीय इनिङ्स खेल्नेहरू आर्मीका बसिर अहमद, नेपाल पुलिसका शंकर राना र एपिएफ क्लबका आसिफ सेखले शतक थिए । बसिरले पुलिसविरुद्ध, शंकरले बागमती र आसिफले बागमतीविरुद्ध शतकीय इनिङ्स खेलेका थिए । यसैगरी लुम्बिनीका रञ्जित खत्रीले पुलिसविरुद्ध र गण्डकीका अर्जुन कुमालले कोशीविरुद्ध शतक लगाएका थिए ।
एपिएफको तेस्रो जित
नेपाल एपिएफ क्लबले जनकपुर रंगशालामा उत्कृष्ट फर्ममा रहेको सुदूरपश्चिमलाई ४५ रनले निराश बनाएको छ । पहिलो ब्याटिङ गरेको एपिएफले ५० ओभरमा नौ विकेट गुमाएर २५९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा सुदूरपश्चिम ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो । एपिएफको जितमा युवराज खत्रीले पाँच विकेटको प्रदर्शन गरेका थिए । उनले १० ओभर बलिङ गरी ३४ रन खर्चेका थिए । एपिएफका लागि अभिषेक गौतमले ३२ रनमा दुई विकेट लिए । कमल ऐरी र रोहितकुमार पौडेलले समान एक विकेट हात पारे । सुदूरपश्चिमले लक्ष्य पछ्याएको इनिङ्समा अशोक धामीले सर्वाधिक ५० रनको योगदान दिएका थिए ।