टिकटक प्रयोग गरी सुनचाँदीको गहना सस्तोमा बनाइदिने भन्दै ठगी गर्ने धन्दामा संलग्न बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा उपमहानगरपालिका–६ का ५१ वर्षीय जीवनकुमार ठाकुर र उनका छोरा २७ वर्षीय निहाल ठाकुर रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई सोमबार बसुन्धराबाट पक्राउ गरेको हो। उनीहरूको न्युरोडमा स्वर्ण संसार नामको सुनचाँदी पसल छ। सोही पसलमार्फत उनीहरूले सर्वसाधारणलाई ठगी गर्दै आएकाे प्रहरीले जनाएको छ।
हालसम्म उनीहरूले चारजनाबाट एक करोड २० लाख ९२ हजार ९६७ रुपैयाँबराबरको सुनचाँदी ठगी गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी मनोहर भट्टले जानकारी दिए।
उनले भने, ‘उनीहरूले टिकटक प्रयोग गरी सस्तो दरमा सुनचाँदीको गहना बनाई दिने प्रलोभन दिने रहेछन्। सम्पर्कमा आएका सेवाग्राहीसँग सुनचाँदीका गहना लिने रहेछन्। त्यसपछि ठगी गर्ने रहेछन्। हालसम्म चारजनाको जाहेरी परेका छ। उनीहरूबाट मात्रै झन्डै साढे एक करोड रुपैयाँ ठगी गरेको देखिन्छ।’