१० दिनमा झन्डै १५ हजारले गरे पाथीभरा दर्शन

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

चैतेदसैँको अवसरमा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनको उल्लेख्य भिड लागेको छ। पछिल्लो १० दिनको अवधिमा झन्डै १५ हजार श्रद्धालुले पाथीभराको दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैत १२ गतेदेखि चैत २१ गतेसम्म १४ हजार ७९६ जना मन्दिर पुगेका छन्। दसैँ–तिहारपछि पाथीभरा दर्शन गर्ने अर्को मुख्य सिजनका रूपमा चैतेदसैँ तथा रामनवमीलाई लिने गरिन्छ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले चैते दसैँसँगै पाथीभरा दर्शनको मौसम सुरु हुने भएकाले भक्तजनको आगमन बढेको बताए। उनका अनुसार पछिल्लो १० दिनमध्ये सबैभन्दा बढी भिड शनिबार परेको थियो। एकै दिन चार हजार २०८ जनाले मन्दिर दर्शन गरे। त्यसअघि अघिल्लो शनिबार २ हजार ७३३ जना तथा रामनवमीको दिन चैत १३ गते शुक्रबार २ हजार ७५ जनाले पाथीभराको दर्शन गरेका थिए।

पाथीभरा दर्शनका लागि नेपालका विभिन्न जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बंगालबाट समेत भक्तजन आउने गरेका छन्। हाल मौसम अनुकूल रहेकाले दैनिक रूपमा दर्शनार्थीको आगमन बढ्दो रहेको समितिका कर्मचारी राजेन्द्र महतले बताए।

See More On

सुझावित समाचार