भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्सालले निर्माण क्षेत्रलाई ‘भ्रष्टाचार शून्य’ बनाउने प्रतिबद्धता गरेका छन् । उनले कानुनी सुधार एवं सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै यस क्षेत्रको भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती रोक्ने बताएका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा मन्त्री लम्सालले अब सूचना प्रविधिको उच्चतम प्रयोग गरी ‘भ्रष्टाचार शून्य’ बनाइने प्रतिबद्धता व्यक्त गरेका हुन् । यसका लागि भुक्तानीको समस्या हुन नदिने, मोबिलाइजेसन पेस्कीको दुरुपयोग भए–नभएको अनुगमन प्रणालीको स्थापना गर्ने र आयोजना प्रमुखलाई जिम्मेवार बनाउने बताए ।
मन्त्री लम्सालले निर्माण उद्योगमा विद्यमान समस्या समाधान गर्ने प्रतिबद्धतासमेत जनाए । पश्चिम एसियाको युद्धका कारण इन्धन र निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको समस्यालाई दुई हप्ताभित्रमै निर्देशिका जारी गरेर सम्बोधन गरिने बताए । उनले एक वर्ष अवधि भएका सबै ठेक्काको हकमा पनि मूल्यवृद्धिको व्यवस्था गरिने जानकारी दिए ।
भेटमा नवनिर्वाचत अध्यक्ष पाण्डेले रुग्ण ठेक्काहरूको समस्या समाधानका लागि मन्त्री लम्सालको ध्यानाकर्षण गराउँदै ठेक्काहरूलाई सकेसम्म ‘रुग्ण’ हुनै दिन नहुने गरी काम गर्नुपर्ने बताए । निर्माण उद्योगमा अब ‘थर्ड पार्टी’ले कुनै समस्या सिर्जना नगर्ने दाबी गर्दै उनले यदि कोही–कसैले त्यसो गरेमा सजायको भागीदार हुने बताए । उनले निश्चित मूल्य–मान्यतामा आधारित भएर सरकारी र व्यवसायीले कार्यसम्पादन गरेमा निर्माण उद्योगमा कुनै समस्या नआउने दाबीसमेत गरे ।