दोस्रो सहिद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तरवडा बुद्धिचाल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । पहिलो दिन तीन चरणका खेल सकिँदा आयोजक वडा नं २२ को ‘ए’ र वडा नं ११ सर्वाधिक ६ अंकका साथ संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
वडा नं २२ ‘ए’बाट पहिलो बोर्डमा नवीन तण्डुकार, दोस्रो बोर्डमा प्रकाश नेपाल, तेस्रो बोर्डमा यू–१६ का हार्दिक पन्त र चौथो बोर्डमा महिला खेलाडी पूजा भण्डारीले प्रतिस्पर्धा गरेका थिए ।
वडा नं २२ ले वडा नं ९, २७ र २३ लाई हराएको थियो । यसैगरी वडा नं ११ ले पहिलो चरणमा वडा नं १०, दोस्रो चरणमा ३ र तेस्रो चरणमा २८ लाई पराजित गर्यो । वडा नं ११ बाट क्षितिज भण्डारी, विजेश राजकर्णिकार, प्रवीर केसी –यू–१६) र राधिका पौडेल (महिला)ले खेलेका थिए ।
वडा नं ७ र वडा १९ संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् । यी दुवै वडाले समान ५ अंक जोडेका छन् । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा स्विस लिगका आधारमा भइरहेको प्रतियोगितामा २८ टोली सहभागी रहेको आयोजकले जनाएको छ । विजेतालाई ६० हजार, उपविजेतालाई ४० हजार र तेस्रो स्थान प्राप्त गर्ने टोलीलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।