प्रहरीको ‘क्लिन स्विप’ अपरेसन : ७४० पक्राउ, ५० हिरासतमा, ६९० लाई छाडियो

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

प्रहरीले सुरु गरेको ‘क्लिन स्विप’ अपरेसनअन्तर्गत ४८ घण्टामा ७४० जना पक्राउ परेका छन् । जसमध्ये अधिकांशलाई छाडिएको छ । प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरमा शुक्रबारदेखि ‘क्लिन स्विप’ अपरेसन चलाएको छ । जसअन्तर्गत एम्बुस, छापा, सर्च, आकस्मिक चेकिङलगायत अपरेसन पर्छन् । शंकास्पद सबैलाई पक्राउ गरी उनीहरूको क्राइम रेकर्ड हेरिन्छ । घटनामा संलग्न रहेकालाई हिरासतमा राखी निर्दोषलाई छाडिन्छ । यसरी पक्राउ परेका ६९० लाई छाडिसकिएको छ । बाँकी ५० जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआइजी ओम अधिकारीले उपत्यकाभित्र ‘क्लिन स्विप’ अपरेसन चलिरहेको बताए । ‘काठमाडौंभित्र प्रहरीले ‘क्लिन स्विप’ अपरेसन चलाइरहेको छ । जसअन्तर्गत धेरैजना पक्राउ परेका छन् । उनीहरूमध्ये अधिकांशलाई छाडिएको छ । आपराधिक गतिविधिमा संलग्नविरुद्ध थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रहरीले ‘क्लिन स्विप’ अपरेसन विशेषगरी ठेक्कापट्टामा संलग्न हुनेविरुद्ध चलाइरहेको छ । त्यसबाहेक मालपोत, यातायात व्यवस्था कार्यालयलगायत सार्वजनिक ठाउँमा सक्रिय बिचौलियाविरुद्ध पनि यो अपरेसन चलाइएको छ । अपरेसन केही महिना निरन्तर चल्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए । ‘उपत्यकाभित्र प्रहरीले चलाएको क्लिन स्विप अपरेसनका क्रममा गुन्डागर्दीमा संलग्नहरू पक्राउ परेका छन् । बिचौलियालाई पनि टार्गेट गरिएको छ । अपरेसन भर्खर सुरु भएकाले यो अझै केही अवधि निरन्तर चल्नेछ,’ उनले भने ।

जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीमातहतका कार्यालयलाई निसाना बनाइयो । कार्यालयमा आगजनी भयो । आन्दोलन सकिएको सुरुको महिना प्रहरीले आफूलाई सबल, सुदृढ र संगठित बनाउन समय खर्चियो । त्यसलगत्तै मुलुकमा प्रतिनिधिसभा निर्वाचन भयो । प्रहरीले बाँकी भएको समय त्यता खर्चिनुपर्यो । त्यसो हुँदा प्रहरीले विगतदेखि नै नियमित चलाउँदै आएको अपरेसन स्थगित भएका थिए । निर्वाचन सकिएसँगै प्रहरी पूर्ववत् अवस्था आइपुग्यो । आन्दोलनपछि स्थगित भएको सोही अपरेसन अहिले चलाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए । 

‘क्लिन स्विपजस्ता अपरेसन विगतमा पनि हुन्थे । जेन–जी आन्दोलनपछि केही प्रभावित बन्यो । प्रहरीले आफूलाई बलियो बनाउनुपर्ने थियो । केही महिना प्रहरी त्यसतर्फ केन्द्रित भयो । त्यसलगत्तै निर्वाचन भयो । प्रहरी पूर्ववत् अवस्था फर्किएर अपरेसन सुरु गरेका हौँ,’ उनले भने । प्रहरीका अनुसार अपरेसनपछि पक्राउ परेकामध्ये गुन्डागर्दीमा संलग्न १९ जनाविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ । पक्राउ परेका अन्य भने विभिन्न अपराधमा संलग्न रहेको प्रहरीको भनाइ छ । 
 

See More On

सुझावित समाचार