बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चैत २४ गते मंगलबार दिउँसो ४ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अधिवेशन आह्वान गर्नेछन् ।
गत साउन २७ पछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । भदौ २३–२४ गते भएको आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय र सभा हलसहितका संरचना जलेपछि बैठक अवरुद्ध भएको थियो । त्यसपछि मंसिर ३ मा प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।
हाल अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिकाको पछाडिपट्टि रहेको मुख्यमन्त्री सभाहल मर्मत गरी प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी गरिएको मन्त्री तामाङले बताए ।
दुई मन्त्रालयमा सचिवको जिम्मेवारी
मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका दुई कर्मचारीलाई मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा कृषि तालिम केन्द्रका निर्देशक सुधिर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। सो मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो।
त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त सचिवमा उपसचिव स्तर (९ औँ तह)का नुमानन्द अधिकारीलाई जिम्मेवारी तोकिएको छ।
त्यस्तै प्रदेश निजामती सेवा नियमावली २०८२ स्वीकृत गर्ने, इन्जिनियर सेवा समूहका राजु श्रेष्ठलाई ११औँ तहमा बढुवा गरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने तथा यातायात पूर्वाधार निर्देशनालय हेटौँडामा कार्यरत नविन सिंहलाई मन्त्रालयमा पदमिलान गर्ने निर्णय गरिएको छ ।
बैठकले बागमती प्रदेश विज्ञापन नियमन गर्ने निर्देशिका २०८२ स्वीकृत गर्ने, २०८३ सालको सार्वजनिक बिदा घोषणा
गर्ने, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम तथा दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन सम्बन्धी कार्यविधि संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता तामाङले बताए ।
यसैगरी बागमती प्रदेश विश्वविद्यालय ऐन पहिलो संशोधन २०८२ स्वीकृत गर्ने, प्रदेश जग्गा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने तथा बहुवर्षीय ठेक्का मापदण्ड २०८२ संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संघीय सरकार तथा मन्त्रिपरिषद्का सदस्यलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ। साथै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।