सत्ययुग बिदा जाँदै थियो र कलियुग आउँदै थियो । सत्ययुगले भन्यो– कलियुग, तिमी मेरा यी मान्छेलाई दुःख नदिनू, उनीहरूलाई नसताउनू, उनीहरूलाई बेकारमा नमार्नू । कलियुगले जवाफ दियो, तिम्रा मान्छेलाई म केही गर्दिनँ । उनीहरूले आफ्नै कर्मले दुःख पाउनेछन् र आफ्नै कर्म र लोभले ज्यान गुमाउनेछन् । जसको मसँग कुनै उपचार छैन ।
सत्ययुगले भन्यो– यस्तो केही हुनेछैन । कलियुगले भन्यो– हिँड मसँग तिमीलाई प्रत्यक्ष देखाइदिन्छु । दुवै जंगलको बाटो अघि बढे । छेवैबाट दुई दाजुभाइ जाँदै थिए । उनीहरूले अगाडि एउटा सुनको मृग देखे । दुवैले त्यसलाई मारेर घर लाने र बेचेर धन कमाउने सल्लाह गरे । दुवै दाजुभाइले पिछा गरेर केहीबेरपछि सुनको मृग मारे ।
दुवैले सल्लाह गरे– अहिल्यै सुनको मृग घर लिएर गए गाउँलेले देख्छन् र आफ्नो भाग माग्छन् । भाग नपाए सरकारलाई बताइदिन्छन् । बरु यहीँ कुरेर रात परेपछि मात्र घर जाऔँ । केहीबेरपछि दाइले भाइलाई भन्यो– भाइ तिमी घर जाऊ र खाना खाएर मलाई पनि खाना ल्याइदेऊ । अनि घरमा फर्किन केही ढिलो हुन्छ भनेर पनि आऊ । भाइ घरतिर गयो । बाटामा भाइले सोच्यो– दाजु त पहिल्यै धनी हुनुहुन्छ । उहाँका बालबच्चा पनि हुर्किन लागिसके । अबका केही वर्षमा तिनले पनि कमाउँछन् । दाजुलाई धनको के काम ? केही उपाय त गर्नैपर्यो । उता दाजुले सोच्यो– भाइको त बिहे पनि भएको छैन । उसलाई धनको के काम ? केही उपाय त गर्नैपर्यो ।
घर पुगेर भाइले खाना खायो र दाजुका लागि खाना लिएर जंगलतिर फर्कियो । बाटामा उसले खानामा विष मिलाइदियो । खाना लिएर दाजुकहाँ पुगेपछि दाजुले भाइमाथि चक्कु प्रहार गर्यो । भाइको तत्काल प्राण गयो । भाइ मरेपछि भोकाएको दाजुले खाना खायो । विषका कारण उसको पनि प्राण गयो ।
आखिरमा धनको लोभमा दुवै दाजुभाइको ज्यान गयो । कलियुगले गरेको केही होइन । उसले धनको लोभमा दुवै दाजुभाइको विवेकमा ताला लगाइदियो । जसको परिणाम दुवैको ज्यान गयो ।