चरा बसाइँ सर्ने मौसम

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

मधेशमा गर्मीयाममा प्रचण्ड गर्मी हुन्छ । अलिकति उत्तरतिर गयो भने शीतल हावा चल्छ । धरानदेखि भेडेटार गयो भने चिसो मौसम भेटिन्छ । भैरहवामा प्रचण्ड गर्मी हुन्छ । अलिकति माथि तानसेन पुग्यो, चिसो हावा भेटिन्छ । यो भौगोलिक विविधता मान्छेले मात्रै महसुस गर्दैनन्, पशुपक्षीले पनि गर्छन् । भौगालिक बनावटअनुसार तापक्रममा पनि विविधता छ ।

नेपालमा थुप्रै रैथाने चरा पाइन्छन् । हिमालदेखि तराईसम्मका फरक–फरक भू–भागमा रैथाने चराको वासस्थान छन्, जसले यहाँको जैविक विविधतालाई अझ समृद्ध बनाएको छ । नेपालमा करिब ९०२ प्रजातिका चरा अभिलेखित छन् । तीमध्ये करिब दुई सय ५० प्रजातिका चरा बसाइँसराइ गरिरहन्छन् । बाँकी करिब ६ सय ५० रैथाने हुन् । चैत–वैशाख चराहरूको जीवनचक्रका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । अधिकांश चरा यतिवेला प्रजननमा व्यस्त हुन्छन् । रैथाने चराका लागि यो बच्चा कोरल्ने समय हो । नेपालभित्रै पनि उचाइअनुसार कतिपय चरा बसाइँ सर्छन् । जसलाई चराको ‘लेक–बेसी’ पनि भन्ने गरिन्छ । हिउँदमा विशेषगरी चरा चुरे क्षेत्रका नदी किनारमा बस्छन् । गर्मीमा चरा चिसो ठाउँ खोज्दै लेकतिर जाने गर्छन् । फेरि हिउँदको समयमा बेँसीतिर झर्ने गर्छन् ।

मधेशबाट पहाड उक्लिने समय 
अहिले चराहरू मधेशबाट पहाड उक्लिने समय हो । यतिवेला धेरै चराहरू गुँड बनाउने, अन्डा पार्ने र बच्चा हुर्काउने काममा व्यस्त छन् । त्यसैले, बच्चा कोरल्ने समयमा माथि उक्लिछन् र हिउँ पर्न थालेपछि उपत्यकातिर झर्छन् । चुइया प्रजातिका दुई चरा छन् । यी चरा अहिले पहाड उक्लिन्छन् । फिस्टा प्रजातिका पनि थुप्रै चरा छन् । यी जराहरूले पनि लेकबेंसी गर्छन् । चिबे चरा पनि गर्मीको समय पहाडतिर उक्लिन्छ, त्यही बच्चा कोरल्छ । ताँबे ढुकुरले पनि यस्तै व्यवहार देखाउँछ ।  गर्मीको समय पहाडतिर प्रजनन गरेर हिउँदमा तराई झर्छ । भद्राई पनि हिमाली क्षेत्रमा प्रजनन गरेर  हिउँदमा पहाडतिर आउँछन् । ‘पितोदर फिस्टो’, ध्वाँसे फिस्टोले लेकबेँसी गर्छन् । 

लोकल माइग्रेसन
नेपालका केही चराले ‘लोकल माइग्रेसन’ गर्छन्, अर्थात् सानो क्षेत्रमा मौसमअनुसार स्थान परिवर्तन गर्छन् । जस्तै– चितवन क्षेत्रमा पाइने केही चरा घाँसको अवस्थाअनुसार स्थान बदल्छन् । बकुल्लाले पनि यस्तो व्यवहार देखाउँछ । प्रजननको समयमा एकै ठाउँमा जम्मा हुन्छन् र अन्य समयमा फैलिन्छन् । जुरेली, पात सिउने, कागजस्ता चराले लेकबेँसी गरेको पाइँदैन ।

मधेशको मयूर धेरै ठाउँ हिँडडुल गर्दैनन्, उनीहरू आफ्नो क्षेत्रमै बस्न रुचाउँछन् । डाँफे चराले हिमाल र पहाडबिच मात्रै बसाइँ सर्छ । हिमालको फेदमा ‘तिलहरी चरा’को प्रजाति भेटिन्छ । हिमालमै बच्चा कोरल्छ । माछा खाने ‘माटी कोरे’ प्रजातिको चरा लामो दूरी माइग्रेसन गर्दैन । 

मानव बस्ती क्षेत्रमा पाइने जुरेलीले पनि लेकबेँसी गर्दैन । अर्को, पात सिउने फिस्टो चरोले पनि लेकबेँसी गर्दैन । भगेराले लेकबेँसी गर्दैन, मानवबस्ती वरिपरि नै बस्छ ।

आगन्तुक चरा फर्किने समय 
विशेषगरी नेपालमा चराका दुई प्रकारका बसाइँसराइ हुने गर्छ । जुन हिउँदे आगन्तुक र ग्रीष्मकालीन आगन्तुक । हिउँदे आगन्तुक चराहरू साउन–भदौदेखि नेपाल आउन थाल्छन् । अर्को, चैत–वैशाखतिर पुनः आफ्नो गन्तव्यतर्फ फर्किन्छन् । त्यसैले, यो आगन्तुक चराहरू फर्किने र बच्चा कोरल्न नेपाल आउने समय हो । आगन्तुक चराहरू नेपाल आइपुग्छन् । उनीहरू धेरै टाढा–टाढाका भूभाग पार गर्दै नेपाल आइपुग्छन् । चीन, मंगोलिया, रुस, कोरिया, किर्गिस्तान पूर्वी युरोपसम्मबाट नेपाल आइपुग्छन् । 

दक्षिण भारत, श्रीलंका, दक्षिण–पूर्व एसियाबाट आउने चराहरू नेपालमै बच्चा कोरल्छन् । यस समयमा दक्षिणबाट ग्रीष्मकालीन आगन्तुक चराहरू पनि नेपाल आउन थाल्छन् । यस्ता चराहरू दक्षिण भारत, श्रीलंका, उत्तर–पूर्वी भारत, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियासम्मका क्षेत्रबाट नेपाल आइपुग्छन् । करिब पाँच दर्जनजति प्रजातिका ग्रीष्मकालीन आगन्तुक चराहरू नेपालमा प्रवेश गर्छन् । हिउँदे आगन्तुकभन्दा फरक, यी ग्रीष्मकालीन चराले नेपालमै प्रजनन गर्छन् । यी चराले यहीँ बच्चा कोरल्छन् । थाइल्यान्ड, मलेसिया, इन्डोनेसियाबाट चराहरू नेपाल आउने क्रम जारी छ । कति चराहरू नेपाल आइसके ।

‘जुरे कोइली’ विशेष उदाहरण हो, जुन अफ्रिकासम्मबाट नेपाल आउँछ । यसले मनसुनी हावालाई प्रयोग गरेर यात्रा गर्छ, जसलाई ‘टेल विन्ड’ पनि भन्ने गरिन्छ । यही कारण यसलाई ‘मनसुन बर्ड’ पनि भनिन्छ ।

कोइलीका धेरै प्रजाति आगन्तुक हुन् । कोइलीले किरा–फट्यांग्रा खाएर आफ्नो प्रजनन चक्र पूरा गर्छ । नेपालमा कोइलीका करिब १७–१८ प्रजाति पाइन्छन्, जसमा केही रैथाने भए पनि अधिकांश ग्रीष्मकालीन आगन्तुक चरा हुन् ।

नेपाल विविधतामा समृद्ध हुँदाहुँदै पनि चराहरू गम्भीर संकटमा छन् । यसको मुख्य कारण मानवीय गतिविधि हो । वन फँडानी, सिमसारको अतिक्रमण, नदी–ताल प्रदूषण, चोरी–सिकारीजस्ता कारणले चराको वासस्थान खुम्चिएको छ । जलवायु परिवर्तनले चराको वासस्थानलाई झनै जटिल बनाएको छ । सिमसार सुक्दै गएका छन्, वन क्षेत्र सुक्खा हुँदै गएको छ । जलवायु परिवर्तनले गर्दा नेपालमा चराहरूको वासस्थानमा असर गरिरहेको छ । ‘क्लाइमेट चेन्ज’ले गर्दा ताल, कुवा, झर्नाहरू सुक्न थालेका छन् । यसपालि हिउँदे पानी कम परेर वनहरू झन् सुक्खा भए । जसले गर्दा तालको संकुचन भइरहेको छ । 

नेपालमा जंगलक्षेत्रमा आगलागीको जोखिम बढेको छ । पहिलेभन्दा अहिले आगोको तीव्रता बढी छ, जसले चराहरूको गुँड र वासस्थान नष्ट गर्छ ।

चरालाई पासो ट्रान्समिसन लाइन 
चरालाई पूर्वाधार विकासले पनि ठुलो असर पारेको छ । विकासको विरोध गर्न खोजेको होइन । विशेषगरी, हाइटेन्सन ट्रान्समिसन लाइनहरूले गिद्ध, चिल र अन्य चरालाई मारिरहेका छन् । नेपालका हाइटेन्सन लाइन अथवा ट्रान्समिसन लाइन चराको पासो जस्तो बनेको छ ।  रामेछापको तामाकोशी–सुनकोशी र कोशीहरूआसपासका क्षेत्रमा यस्तै देखिन्छ । अर्को, जलविद्युत् आयोजनाका बाँधहरूले नदीको प्राकृतिक बहाव रोक्दा माछा र अन्य जीवको बसाइँसराइ प्रभावित हुन्छ, जसले गर्दा चराहरूको वासस्थानमा असर परिरहेको छ । नदीहरू निर्माण भएका त्यस्ता ड्यामले असर गरिरहेका छन् । एउटै नदीमा पाँचवटा ड्याम बनेको देखिन्छ । ड्याम बनाउनेबित्तिकै माछाको माइग्रेसन रोकिन्छ । माछाको माइग्रेसन रोकिनु अरू साना किरा फट्यांग्राको माइग्रेसन रोकिनु हो । जसले जैविक विविधतामा ह्रास ल्याउँछ । चराहरूको आहारमा पनि असर पुगिरहेको छ । 

सहरीकरण, विमानस्थल विस्तार र अव्यवस्थित विकासले पनि समस्या थपेको छ । विमानसँग ठोक्किने चराहरू (बर्ड स्ट्राइक) अहिले ठुलो चुनौती बनेको छ ।

विश्वव्यापी रूपमा पनि चराको संख्या घटिरहेको छ । युरोपमा गरिएको अध्ययनले १९७० को तुलनामा अहिले चराको संख्या निकै घटेको देखाउँछ । नेपाल पनि यसबाट अछुतो छैन । यस अवस्थामा संरक्षणका लागि जनचेतना आवश्यक छ । प्रजननको समयमा वनमा आगो नलगाउने, रुख नकाट्ने, सिमसार जोगाउने र चराका लागि पानीको व्यवस्था गर्नेजस्ता साना कदमले ठुलो योगदान दिन सक्छ । नेपालको चरा विविधता यसको प्राकृतिक सम्पदा मात्र होइन, पारिस्थितिक सन्तुलनको आधार पनि हो । त्यसैले, यसको संरक्षण सबैको साझा दायित्व हो । 

See More On

सुझावित समाचार