संसारले चिनेका तर आफ्नै राष्ट्रले नचिनेका वीर गोर्खालीले आज आफ्नो परिचय गुमाउँदै छन् । २१० वर्षभन्दा लामो अक्षुण्ण इतिहास बोकेका गोर्खालीले न त आफ्नै देशबाट उचित संरक्षण पाएका छन्, न त उनीहरूले सेवा गरेका विदेशी राष्ट्रबाट नै । आफ्नै देश र बेलायत वा भारतको इतिहासमा समेत उनीहरूलाई उचित स्थान दिइएको छैन र अपवादका रूपमा ‘भाडाका सिपाही’सरह मात्र उल्लेख गरिएको छ ।
नेपाल सरकारले जसरी दलित समुदायप्रति माफी मागेको छ, त्यसरी नै गोर्खाहरूप्रति राज्यले गरेको हेपाहा प्रवृत्ति र इथनिक क्लिन्जिङका लागि सरकारले माफी माग्नुपर्छ । इथनिक क्लिन्जिङ यसकारण कि प्रथम र दोस्रो विश्वयुद्धमा मृत्युवरण गर्ने समुदाय आदिवासी जनजाति समुदायका गुरुङ, मगर, राई र लिम्बू समुदायका ९५ प्रतिशत अधिक थिए ।
गोर्खा भर्ती केवल रहर वा संयोग मात्र थिएन, बरु नेपालका तत्कालीन शासकको आफ्नो सत्ता जोगाउने स्वार्थको उपज थियो । वीरशमशेर र चन्द्रशमशेरजस्ता शासकले आफ्नो शक्ति र क्राउन जोगाउन राई, लिम्बू, गुरुङ र मगरजस्ता आदिवासी जनजाति युवालाई अग्रमोर्चामा मर्न पठाए । शासकले ‘घरलौरी’ उर्दी जारी गरेर नेपाली गाउँघरलाई मसानघाटमा परिणत गरिदिए ।
प्रथम विश्वयुद्धमा त्यसवेलाको नेपालको जनसंख्याको २० प्रतिशत नेपाली युवा सहभागी थिए । यो २० प्रतिशत नेपालीमा को–को संलग्न थिए ? किन र केका लागि आत्माबलिदानी थियो ? यो त्याग, बलिदानी नेपालका लागि थियो । रगत हाम्रै लागि बगेको थियो । विश्वकै सोझा, इमानदार हाम्रा पूर्वजले नेपालका लागि रगत बगाए । जहाँ जुन अवस्थामा लडे पनि त्यो नेपालका लागि थियो ।
शासककै स्वार्थका कारण महासमरमा सबैभन्दा सानो उमेरका सेना भएर हाम्रा गोर्खाली सेनाले ज्यान गुमाए । आज नेपाल राष्ट्रले उनीहरूको बलिदानलाई के–कति सम्मान गर्यो ? नालापानी काँगडामा भएका युद्धभन्दा कैयन् गुणा ठुलो त्याग भएको गोर्खाली इतिहासलाई हामीले के–कति सम्मान गर्न सक्यौँ ?
आर्थिक शोषण र राज्यको उदासीनता
विगत दुई सय वर्षदेखि नेपाल सरकारले गोर्खाको नाममा आएको पैसा चलाइराखेको छ, तर यसको कुनै पारदर्शी हिसाबकिताब सार्वजनिक गरिएको छैन । प्रथम विश्वयुद्धको समयमा नेपालले बर्सेनि १० लाख रुपैयाँ बुझ्ने गरेको थियो, जुन सन् १९२३ मा दोब्बर भयो र दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) पछि अझ बढ्यो । गोर्खालीको यो अमूल्य बलिदानको हिसाब नदेखाउनु उनीहरूप्रतिको ठुलो अपमान र बेइमानी हो । यसका लागि नेपाल सरकारले विशेष समिति निर्माण गरेर सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्नुपर्छ । आज २१औँ शताब्दीमा पशुको समेत तथ्यांक राखिन्छ, तर नेपाल सरकारसँग आफ्ना निर्दोष नागरिक गोर्खाहरूको बलिदानीको तथ्यांक संकलन गर्ने कुनै निकाय छैन ।
नेपालको राष्ट्रिय सग्रहालयमा समेत गोर्खा योगदानको नामोनिसान छैन । वर्तमान शासकले बेलायत र भारतलाई मात्र दोष दिएर इतिहासका भूल ढाकछोप गर्नुको साटो, निर्दोष जनतालाई युद्धमा पठाएको जिम्मेवारी लिई संसद्मा उभिएर माफी माग्नुपर्छ । साथै, गोर्खा भर्तीले ल्याएको सामाजिक, पारिवारिक, भौतिक र मानसिक विचलनको गहिरो समाजशास्त्रीय अध्ययन हुनु नितान्त आवश्यक छ ।
प्रथम र दोस्रो विश्वयुद्धलगायत अन्य युद्धमा मारिएका गोर्खालीको समाधि संसारका विभिन्न देशमा छरिएर रहेका छन् । सन् १९१७ मा स्थापित कमनवेल्थ वार ग्रेभ्स कमिसनले यस्ता समाधिको संरक्षण गर्दै आएको छ । कमिसनको नीतिअनुसार समाधि स्थायी, एकैखाले र रंगभेदरहित हुनुपर्छ । यसको संरक्षण खर्च बेलायत (७.४३%), क्यानडा (१०.७%), न्युजिल्यान्ड (२.१४%), दक्षिण अफ्रिका (२.११%), भारत (१.२%) र अस्ट्रेलिया (१.०५%) ले व्यहोरिरहेका छन् । हाल विश्वका १४९ देशमा रहेका २३ हजार २६४ समाधिस्थलमा १६ लाख ९५ हजार १७४ समाधि रहेका छन्, जसमध्ये दुई लाख ११ हजार ९२९ समाधि अझै सनाखत हुन सकेका छैनन् र यीमध्ये धेरै गोर्खाहरू रहेका छन् ।
समाधिस्थलको अवस्था विश्वभर फरक–फरक छ । पूर्वी जर्मनीको जरेनड्रोफमा सन् १९८९ मा बर्लिनको पर्खाल ढलेपछि मात्र खोजी गर्दा गोर्खालीका समाधि फेला परेका थिए । भारतको दिल्ली र टर्कीको ग्यालिपोलीमा रुग्ण मौसमले समाधिलाई असर पारिरहेको छ । फ्रान्स र बेल्जियममा वर्षे बाढीबाट समाधिलाई जोगाउन गाह्रो भइरहेको छ । इजिप्टमा पानीको अभावले समाधि उद्यान सुक्ने स्थितिमा छन् भने बेलायतमै धेरै समाधिस्थल निजी जग्गामा परेकाले संरक्षणमा कठिनाइ भइरहेको छ ।
विश्वभरका युद्ध समाधिस्थलमध्ये हङकङको गोर्खा समाधिको संरक्षणमा ‘गोर्खा सिमेट्री ट्रस्ट हङकङ’ र त्यहाँका सचेत नेपालीले विशेष चासो देखाएका छन् । हङकङको क्यासिनो लाइनमा अवस्थित ताम्मी क्याम्पमा एक ठुलो क्षेत्रफलभित्र बेलायती सैनिक सेवा कालमा मृत्युवरण गरेका गोर्खालीका पाँच सय ८० भन्दा बढी समाधि संरक्षणमा रहेका छन् । जसको सुरक्षा वार ग्रेभ्स कमिसनले गरिरहेको छ ।
साँघुरो हङकङमा ११ वटा समाधिस्थल दर्ता भए पनि ‘नर्वेजियन फार्म सिमेट्री’जस्ता ठाउँको नामोनिसान छैन, जहाँ राइफलम्यान लिम्बू (सर्भिस नम्बर २११४५३६०) को समाधि परेको छ र हाल यसको तीव्र खोजी भइरहेको छ । जग्गा अभावका कारण कृष्णबहादुर थापा, खड्गसिंह गुरुङ र पूर्णवीर राईजस्ता हिन्दु सैनिकलाई ह्याप्पी भ्याली हिन्दु मन्दिरको समाधिस्थलमा जथाभावी राखिएको छ । हङकङमा हताहत भएका एक हजार ८२५ गोर्खामध्ये ६२१ जना अझै सनाखत हुन बाँकी छन् ।
नेपाली इतिहासमा यतिन्जेलसम्म छायामा पारिएको गोर्खा इतिहासलाई अब न्याय दिई इतिहास पुनर्लेखन गर्नुपर्ने टड्कारो आवश्यकता छ । यदि हामीले गोर्खाहरूलाई साँचो अर्थमा सम्मान गरेका छौँ भने भावी पुस्ताले पुष्पगुच्छा अर्पण गर्न सक्ने र श्रद्धाले शिर झुकाउन सक्ने एउटा विशाल स्मृतिस्तम्भ काठमाडौँमा निर्माण गरिनुपर्छ । पुर्खा दिवसलाई वार्षिक पर्वका रूपमा विश्वव्यापी रूपमा मनाउँदै नेपाली एकताका लागि एउटा बलियो इन्स्टिट्युसनको रूपमा विकास गर्नुपर्छ ।
हङकङमा विद्यालयस्तरमा पाठ्यक्रममा समावेश गरी गोर्खा इतिहास र गोर्खा विभूतिलाई नेपाली शैक्षिक पाठ्यक्रमभित्र ल्याएर आमविद्यार्थीलाई जानकारी दिने सानै भए पनि प्रयास भइरहेको छ । पुर्खा दिवसमा विभिन्न विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी पनि सहभागी हुँदै आएका छन् । साहित्य र कलाको विकासः गोर्खा साहित्य, कला र संगीतको उत्थान र विकास गर्दै पुर्खाहरूलाई सजाउने काम गरिरहेका छन् । आयोजक गोर्खा सेमेइट्रिज ट्रस्टले गोर्खाहरूको तथ्यांक संकलन र अनुसन्धान गरी प्रथम र दोस्रो विश्वयुद्धमा हताहत भएका लगभग ४० हजार गोर्खालीको तथ्यांक प्रकाशित गरिसकेको छ । सनाखत नभएका गोर्खाहरूको नामावली तयार पार्ने र बेलायत सरकार, कमनवेल्थ वार ग्रेभ्स कमिसनसँग मिलेर सांख्यिकी निकाल्ने कामसमेत भइरहेको छ ।
अन्त्यमा, गोर्खालीहरूको यो २०० वर्षभन्दा लामो इतिहासलाई कवि, लेखक र राज्यले यथार्थपरक मूल्यांकन नगरेका कारण आज भावी सन्ततिले यसप्रति गहिरो चासो लिनुपर्ने वेला आएको छ । ६० हजारभन्दा बढी हताहत भएका शूरवीर गोर्खाहरूको इतिहास केवल समाधिस्थलको ढुंगामा ‘एक योद्धाले मृत्युवरण भयो’ भन्ने एक लाइनमा सीमित हुनुहुँदैन । आफ्नो देशका जनतालाई युद्धमा पठाएर त्यसको क्षतिपूर्ति नदिने राज्यले अब आफ्नो दायित्व बुझ्दै सुगौली सन्धि र त्रिपक्षीय सन्धिको स्पष्टीकरण दिनुपर्छ र यो महान् इतिहासलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्छ ।