माघ ९ गते कञ्चनपुरस्थित वैजनाथ आधारभूत विद्यालयका शिक्षक गजिराम सार्कीमाथि भएको जातीय विभेदको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जाल एकाएक तरंगित बन्यो । सरस्वती पूजाकै दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरकुमार भण्डारीले शिक्षक गजिरामलाई छुट्टै पातमा टीका लगाएर विभेद गरेको भन्दै उनी रोइरहेको भिडियो सार्वजनिक भयो । भिडियोमा भक्कानिँदै उनले भनेका छन्, ‘म दलित जातमा जन्मिएर कुन जुनीको अपराधको सजाय भोग्दै छु ? आमाबुबाले दुःख गरेर पढाए, मैले मिहिनेत गरेर आयोग पास गरेँ । स्थायी जागिर खाएँ, तर यस्तो अपमान सहेर काम गर्नुभन्दा छोडिदिऊँ जस्तो लाग्यो ।’
यो घटना केवल एउटा व्यक्तिगत अपमानको कथा थिएन, बरु नेपाली समाजमा अझै जरा गाडेर बसेको जातीय विभेदको जिउँदो उदाहरण थियो । यो घटनासँगै सामाजिक सञ्जालमा विभेदविरुद्धका गीतका क्लिप सेयर भए । ‘मान्छे मान्छे एउटै हो, फरक किन भो’ जस्ता गीत राखेर गजिराम रोइरहेको भिडियो सामाजिक सञ्जालमा राखियो ।
नेपालमा जातीय विभेदका घटना सार्वजनिक हुँदा प्रतिरोधी गीत पुनः सामाजिक सञ्जालमा आउँछन् । अजित मिजारको हत्यादेखि नवराज विकसहित युवाको नरसंहार र अहिले इनिसा विकको हत्यासम्म आइपुग्दा सामाजिक सञ्जालमा जातव्यवस्थाविरोधी गीत गुन्जिए ।
जातीय विभेदविरुद्ध संगीत क्षेत्र पनि निकै अघिदेखि जुर्मुराएको देखिन्छ । समाजको यो अमानवीय व्यवस्थाविरुद्ध संगीतकर्मीले दशकौँअघिदेखि संगीतका माध्यमबाट प्रतिरोध गर्दै आएका छन् । विभेदविरुद्ध संगीतको माध्यमबाट प्रतिरोध कहिलेबाट सुरु भयो ? प्रतिरोधी गीत जति नै गाइए पनि समाजबाट किन यो कुरूप व्यवस्था अन्त्य हुँदैन ? जातीय विभेदविरुद्ध गाइएका गीत मानिसका मनमस्तिष्कमा गुन्जिन्छन्, लय जिब्रोमै झुन्डिन्छ तर विभेद किन रोकिँदैन ? के गीतको मर्मले नछुने गरी समाज कठोर हुँदै गएको हो ?
विभेदविरोधी गीतको इतिहास
विभेदविरुद्धको गीतको इतिहास केलाउँदा गन्धर्व समुदायको सांगीतिक परम्परा विशेष रूपमा उल्लेखनीय देखिन्छ । तर, सुरुका गीतमा उनीहरूले प्रतिरोध गरेको देखिँदैन । गन्धर्वहरूको जीविका नै गीत–संगीतमा निर्भर भएकाले उनीहरू सत्ताविरोधी गीत गाउने अवस्थामा थिएनन् । राणाशासनमा दरबारका सांगीतिक मेहफिलमा उर्दु र हिन्दी गीत नै धेरै बज्थे । गन्धर्वहरूलाई दरबारका भारदार, साहु–महाजन र शासकले आफ्नै प्रशंसा गाउन लगाउँथे ।
लेखक रणेन्द्र बरालीका अनुसार २००३ सालमा बागलुङमा भएको संगठित संघर्षका क्रममा ‘विश्व सर्वजन संघ’ स्थापना गर्दा जातीय विभेदविरुद्ध गीत गाइएको थियो । ‘संघका संस्थापक भगत सर्वजित विश्वकर्मा, लक्ष्मीनारायण विश्वकर्मालगायतले दलितमाथि हुने विभेदविरुद्ध गीत गाएको इतिहासमा उल्लेख पाइन्छ,’ उनी भन्छन्, ‘संघ गठनकै क्रममा उनीहरूले पहिलो अभियान गीतमार्फत सुरु गरेको देखिन्छ । सबैभन्दा पहिले जातीय विभेदविरुद्धको गीत २००३ सालमै लेखिएको थियो ।’
गीतमा भनिएको थियो :
मदिनीले मर्याठानी मलेवा छ कि छैन,
दुधको ठेकी, दहीको भाँडो सबै सराबरी भयो,
थाहा छ कि छैन ?
विभेदविरुद्धको प्रतिरोध आन्दोलनसँगै प्रतिरोधी गीतको इतिहास जोडिएको अध्येता बताउँछन् । अध्येता जेबी विश्वकर्माका अनुसार समाजमा विभेदविरुद्ध संघर्ष र आन्दोलन भए, ती आन्दोलनसँगै गीतमार्फत पनि विभेदविरुद्ध आवाज उठ्न थाले । पञ्चायतकालमा साहित्यकार मोदनाथ प्रश्रितले विभेदविरुद्धका गीत लेखेका थिए । उनको एउटा गीतले भन्छ:
म नहुँदा संसार थियो बाँझो पर्ती
मेरै श्रम पसिनाले मुस्कुरायो धर्ती
जंगल फाँड्न मेरै आरन बन्चरो बनाउँछ,
कोदाली र फरुवाले बाँझो जमिन खन्छ ...’
नेपालमा प्रतिरोधी गीतको विस्तार २० को दशकमा ‘राल्फा आन्दोलन’ सुरु भएपछि भएको देखिन्छ । ‘राल्फा आन्दोलन’ले प्रगतिशील साहित्यिक सांगीतिक धारा अघि बढायो । पारिजात, रामेश, रायन, मञ्जुल, अरिमलगायतको टिमले प्रतिरोधी गीत रचना गरे । पञ्चायतको कठोर राजनीतिक संरचनाभित्र जातीय विभेदविरुद्ध उनीहरूले यस्ता गीत बनाए:
मानिस छुत, अछुत हुन्छ
म भन्दै भन्दिनँ
जाति र पाति छुट्याउने रीतलाई
म मान्दै मान्दिनँ...’
गायक शम्भु राई पनि ०३०को दशकमा जातीय विभेदविरुद्ध भूमिगत रूपमा गीत गाउँदै हिँडे । ‘गीत गाउँदै हिँड्दा भेटियो भने पक्राउ गर्थ्यो, कुटपिट गर्थ्यो,’ उनी सम्झिन्छन्, ‘दलित समुदायलाई घरको आँगन टेक्न नदिने, पानीका कुवा अलग हुनेजस्ता अमानवीय व्यवहार समाजमा व्याप्त थियो । त्यसविरुद्ध गीत पनि खुला रूपमा गाउन पाइँदैनथ्यो ।’
रूपलाल विश्वकर्माले गीत संग्रहहरू ‘बोल्छ नेपाल’ (२०३२), कोसेली (२०३३) र युग फेरिन्छ (२०३५) प्रकाशित गरेका थिए । गायक जीवन शर्माले पनि २०४०–४२ सालतिर जातीय विभेदविरुद्धका गीत गाए । ‘त्यसवेला जातीय विभेदविरुद्ध गीत लेखेँ । त्यो समयमा त्यस्ता गीत गाउनु समाजलाई चुनौती दिनुजस्तै थियो,’ उनी सम्झिन्छन् ।
२०४६ सालको जनआन्दोलनपछि खुला राजनीतिक वातावरणमा विभेदविरुद्धका गीतले व्यापकता पाउन थाले । दलित आन्दोलन सशक्त बन्दै जाँदा त्यसको प्रभाव संगीतमा पनि देखिए । यस अवधिमा रेडियो, स्टुडियो र सार्वजनिक मञ्चमा समेत यस्ता गीत सुन्न थालियो ।
२०५० पछि रेडियो नेपालमा ‘दलित जनजागरण’ कार्यक्रम प्रसारण हुन थाल्यो । दलित चेतनाका गीत, कविता र साहित्यिक सिर्जनाले ठाउँ पायो । मोतीलाल नेपालीहरूका जातीय विभेदविरुद्धका गीत रेडियो नेपालबाट बज्न थाले । त्यही अवधिमा मिना स्वर्णकार, तीर्थबहादुर गन्धर्वजस्ता कलाकारले दलित समुदायको पीडा र संघर्षलाई गीतमार्फत प्रस्तुत गरे । उनीहरूले गाएको एउटा गीत यस्तो थियो:
‘गाइने दाइको सारंगीले जीवनको कथा भन्छ,
काम गर्ने भोकै मर्ने चलनको अन्त्य हुनुपर्छ ...
मिना स्वर्णकारले गाएको अर्को गीतले दलित समुदायको जीवनको यथार्थ र संघर्षलाई अभिव्यक्त गर्छ । यो गीत पनि रेडियो नेपालमा निकै समय बज्यो । गीतका पंक्तिहरू यस्ता छन्:
जीवन फुल्छ, जीवन झर्छ, आरनको धुलोमा
सपना साँचेर जिन्दगी धानेँ, एक मुठी पिठोमा...’
तीर्थबहादुर गन्धर्वले विभेदविरुद्धका गीत गाएका छन् । गन्धर्व समुदायको पीडा र सामाजिक उपेक्षालाई गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
दुःख सम्झिँदा हृदय रुन्छ,
यो सारंगीको पीडा पो कसले सुन्छ ?
समाजले कुल्चेको छ मेरो सारंगीलाई,
गाइने भनी हेला गर्छन् मेरै सारंगीलाई....
यसैगरी, पविता परियारले गाएको ‘समताको खुसी’ बोलको गीतले दलित महिलाको पीडा र सामाजिक असमानतालाई अभिव्यक्त गर्छ । राजेश रिजालको ‘मेरो मुरली’ गीतले पनि विभेदविरुद्धको स्वर मुखरित गर्छ ।
संगीतकार बिबी अनुरागीका अनुसार राणाशासनदेखि पञ्चायतकालसम्म खुला रूपमा सामाजिक न्याय, जातीय विभेदविरुद्धका गीत गाउन कठिन थियो । उनी भन्छन्, ‘रेडियो नेपाललगायत माध्यममा सत्ताअनुकूल गीतलाई मात्र प्राथमिकता दिइन्थ्यो । दलित चेतनाका गीतलाई रेकर्ड गर्नै दिइएन ।’
अध्येता जेबी विश्वकर्माका अनुसार माओवादी जनयुद्धका वेला राजनीतिक तथा सामाजिक आन्दोलन तीव्र बन्दा त्यसको प्रभाव संगीतमा देखिएको थियो । ‘त्यसवेला राजनीतिक आन्दोलन सशक्त हुँदै जाँदा त्यसको प्रतिबिम्ब कला, साहित्य र संगीतमा देखिन थाल्यो । त्यही क्रममा जात व्यवस्थाविरुद्धका गीत व्यापक रूपमा सिर्जना भए,’ उनी भन्छन् ।
विभेदविरुद्धका गीतको सशक्त उपस्थिति ५० को दशकमा देखिन्छ । ०५२ पछि सुरु भएको जनयुद्धकालभरि विभेदविरुद्धका गीतको उभार आयो । सोही समय कर्णबहादुर पुन (पुनित) लेखेको गीत आज पनि लाखौँ मानिसको स्मृतिमा बाँचिरहेको छ ।
मान्छे मान्छे एउटै हो नि फरक किन भो
श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो
त्यसवेला भूमिगत सांस्कृतिक टिमहरूले सामाजिक रूपान्तरणका मुद्दासँगै विभेदविरुद्धका गीत सिर्जना गरे, गाउँगाउँमा गाउँदै हिँडे, सडक नाटक, अपेराहरू प्रस्तुत गरे । सदिऔँदेखि जरा गाडेर बसेको जात व्यवस्थाको वृक्षलाई सोही समय धेरै हल्लाए । सयौँ, हजारौँ अन्तर्जातीय विवाह भए । छुवाछुत गर्नेलाई विद्रोहीले दण्डित गरे । यो सामाजिक राजनीतिक विद्रोहलाई दलित सौन्दर्यमा आधारित गीतले धेरै ठुलो भूमिका खेलेको अध्येता विश्वकर्मा बताउँछन् ।
शान्ति प्रक्रियाको सुरुवातसँगै विद्रोहीका अन्तर्जातीय विवाह भत्किन थाले । तर, विभेदविरुद्ध गाइएका गीतको धागो भने छिनेको थिएन । जनवादी कलाकारले मात्रै होइन, अन्य कलाकारले पनि विभेदविरुद्धका गीत रचना गर्न थाले । गायक यशकुमारले जातीय विभेदविरुद्ध सशक्त आवाज उठाए । उनको ‘मैले छोएको पानी चल्दैन’ गीतले छुवाछुतको गहिरो पीडा उजागर गर्छ । ‘म आफ्नै आँगनमा इनार बनाउँछु’ ले सामाजिक विभेदप्रति प्रश्न उठाउँछ । उनले जातीय विभेदमा आधारित कथामा ‘बाटोमुनिको फूल’जस्ता चलचित्र निर्माण गरी चेतना फैलाउने प्रयास गरे ।
०५२ सालतिर रणेन्द्र बरालीले ‘म त अछुत हैन...’ भन्ने बोलको गीत रचना गरेका थिए । त्यसताका उक्त गीत दलित आन्दोलनमा व्यापक गाइएको थियो । २०६२ सालमा बिबी अनुरागीको अध्यक्षतामा ‘आवाज कलाकार नेपाल’ नामक संस्था गठन भयो । यसमा राजु परियार, आशिष अविरल, नरेन्द्र प्यासी, शिव विक, शिव परियार, शंकर बिसीलगायत थिए । यो समूहले विभेदविरुद्धका गीत सिर्जना गर्न थाल्यो । कला केन्द्रले ‘रुमाल धोको छु’ जस्ता धेरै जातीय विभेदविरुद्धको गीत सिर्जना गर्यो । गीतले भन्छ:
कतै कुनै ठाउँ छ र चोखो,
अछुत भन्ने जातले नछोको
रुमाल धोको छु,
यो खोलीको पानी कोही नखानू,
मैले छोको छु....
प्रेम सम्बन्धमा समेत जातीय छुवाछुत कसरी घुस्छ भन्ने कुरा गीतले देखाउँछ । राजु परियारले गाएको अर्को गीत यस्तो छ:
मान्छेभन्दा ठुलो जात कुन छ र ?
मैले छुँदा पानी विष हुन्छ र ?
जति सक्छ्यौ तर्क मायालु,
मैले छुँदा छोइन्छ भने त
सुनपानीले छर्क मायालु...
०६२–०६३ तिर निर्माण भएको ‘दलन’ टेलिफिल्म नेपाली टेलिभिजन इतिहासमै जातीय छुवाछुतलाई केन्द्रमा राखेर निर्माण गरिएको एक महत्वपूर्ण कृति मानिन्छ । यसमा समावेश गीतले विभेदको पीडालाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गर्छ । श्रवण मुकारुङद्वारा लिखित गीतका पंक्ति यस्ता छन्:
माथि माथि अरूहरू, तल छु छाया एक्लै,
जन्म उस्तै, मृत्यु उस्तै, बाँच्नुपर्ने ढंग बेग्लै...’
लेखक तथा विश्लेषक आहुतिले ‘तिमीले थुनेको नर्कलाई’ बोलको गीत लेखेका छन् । गीतमा बिबी अनुरागीले स्वर दिएका छन् । यो गीतले दीर्घकालीन दमन र विभेदविरुद्धको विद्रोही चेतनालाई सशक्त रूपमा अभिव्यक्त गर्छ । गीतका पंक्ति यस्ता छन्:
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ,
हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगेँ
ए मन भएको मान्छे,
मनलाई सञ्चै छ कि बिरामी ?
ए ज्ञान भएको मान्छे,
ज्ञानलाई सञ्चै छ कि बिरामी ?
गीतले शताब्दीयौँदेखि थिचिएको दलित समुदायको प्रश्न, प्रतिरोध र चेतनाको आवाजलाई उजागर गर्छ । गायक शिव परिवारले विभेदविरद्ध ‘छातीमा हात राखेर’ बोलको गीत गाएका छन् । कलाकारहरू कुलेन्द्र विक र सुनितमी परियारले ‘विष घोलिन्न मान्छेले छुँदैमा मान्छेले नै पिउने पानीमा’ गीत गाएका छन् । लोकगायक बद्री पंगेनीले ‘तिम्रो घरमा मेरो छोरी भान्सा चलेन’ बोलको गीत गाएका छन् । गायक प्रकाश सपुतले ‘मेरो पनि हैन र यो देश’ बोलको गीत गाएका छन् । कलाकारहरू खेम सेञ्चुरी, राजन भुजेल विश्वकर्मा, रमेशविक्रम रत्न, सुजन बराइली, राजेश बर्देवा, लक्ष्मी परियार, गीता सेन्चुरी, प्रतिमा विश्वकर्मालगायतले विभेदविरुद्ध गीत गाएका छन् ।
गीत हिट, मान्छे घृणित !
जातीय विभेदविरुद्ध लेखिएका गीत माथिका केही उदाहरण मात्रै हुन् । कला र शिल्पका धनी दलितले हजारौँ गीत–संगीत रचना गरेका छन् । मानिसका मनमष्तिष्कमा गीतहरू बस्छन् । तर, व्यवहार भने जातीय विभेद जस्ताको तस्तै देखिन्छ । कलाकार राजु परियार भन्छन्, ‘मैले गीत गाउन थालेको दुई दशक नाघिसक्यो । गीत गाउँदा मानिस रुन्छन्, ताली बजाउँछन् । तर, गीत सकिएपछि फेरि त्यही पानी नचल्ने व्यवहार देखाउँछन् । हामी मान्छे भएर अझै बाँच्न पाएका छैनौँ । गायकलाई माया गर्छन्, समुदायलाई घृणा गर्छन् । यस्तै छ हाम्रो समाज ।’
गायक जीवन शर्माको बुझाइमा स्रष्टा सर्जकले समतामूलक समाज निर्माण गर्न सिर्जना गर्नुपर्छ । उनी भन्छन्, ‘गीतले समाज परिवर्तन गर्न सक्छ । भाषणले भन्दा गीतले मान्छेको मन छुन्छ ।’ तर, विभेदको क्रम नरोकिएकोप्रति उनको पनि चिन्ता छ । संगीतकार बिबी अनुरागी समाजको मानसिकता बदल्न गीतले मात्रै नपुग्ने मत राख्छन् । उनी भन्छन्, ‘पुरातनवादी सोचले ग्रसित समाज छ । त्यसैले गीतले एकैचोटि आमूल परिवर्तन गर्न सक्दैन ।’ संगीत अन्वेषक बुलु मुकारुङको बुझाइमा नेपाली संगीतको इतिहासबाट दलित समुदायको योगदानलाई अलग गरेर हेर्नै सकिँदैन । उनीहरूको निकै ठुलो योगदान छ । तर, दलित सौन्दर्यसम्बन्धी यति धेरै गीत गाउँदा पनि समाजमा विभेदको घटना दोहोरिरहनु दुःखद भएको उनी बताउँछन् ।
विभेदविरुद्धका गीत केवल भावनामा सीमित नभई सामाजिक रूपान्तरणतर्फ उन्मुख हुनुपर्ने अध्येता जेबी विश्वकर्मा बताउँछन् । ‘गीतले मानिसलाई भावनात्मक बनाउन सक्छ । तर, स्पष्ट विचार नहुँदा त्यसले रूपान्तरण गर्न सक्दैन,’ उनी भन्छन् । उनको बुझाइमा प्रतिरोधी गतिमा भावनाभन्दा विचारको आवश्यकता हुन्छ । ‘विभेदविरुद्धको गीतमा विचार सबैभन्दा महत्वपूर्ण तत्व हो । गीत–संगीत आफैँमा विचारको अभिव्यक्ति भएकाले त्यसले कस्तो सन्देश बोकेको छ भन्ने निर्णायक हुन्छ,’ उनी भन्छन्, ‘विचारविहीन गीतले भावनात्मक प्रभाव त पार्न सक्छ । तर, समाज परिवर्तनको दिशा दिन सक्दैन । प्रगतिशील र रूपान्तरणमुखी चेतना बोकेका गीत कम हुँदा समाजबाट विभेदका घटना कम हुन नसकेको हो ।’
विचार र कलाको सही संयोजन भयो भने मात्र गीतले सही सन्देश दिने अध्येता विश्वकर्माको भनाइ छ । ‘विभेदविरुद्धका गीत व्यक्तिगत भावनामा मात्र सीमित भयो भने सामाजिक प्रतिरोधमा धेरै काम गर्दैन । विभेदविरुद्ध प्रभावकारी गीत सिर्जना गर्न गहिरो अध्ययन हुनुपर्छ । सतही पीडा मात्र देखाएर पुग्दैन,’ उनी भन्छन्, ‘विभेदका संरचनागत कारण बुझेर त्यसविरुद्धको दृष्टिकोणसहित गीत बनाउनुपर्छ । त्यसले मात्रै समाज परिवर्तनमा भूमिका खेल्न सक्छ ।’
सरकारका तर्फबाट माफी
सत्तारूढ दल रास्वपाले शासकीय सुधारका सय सूचीमा दलित समुदायसँग माफी माग्ने निर्णय गरेको थियो । सूचीमा भनिएको छ, ‘दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसर वञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने ।’
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् । सरकारका तर्फबाट उनले दलित समुदायसँग पनि माफी मागेका हुन् । उनले भने, ‘यो सरकार शताब्दीऔँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामूहिक माफी माग्दै छ, त्यो पनि यो सदनबाट ।’ उनले आजसम्म दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध रहेको बताए । उनले भने, ‘अब कुनै पनि नेपालीले जातका आधारमा अपमानित महसुस गर्नेछैन ।’