स्रोत अभावबिच फेस्टिभल यात्रा

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

नेपाली फिल्म उद्योग आफ्नै कथा र पहिचान निर्माण गर्ने दिशामा अघि बढिरहेको छ । नेपाली फिल्ममेकर आफ्नै शैली, भाषा र कथावाचनको विकास गर्ने क्रममा छन् । विगतमा आयातित सूत्र र शैलीमा आधारित कथा भनिन्थ्यो । अहिले त्यसलाई तोड्ने प्रयास भइरहेको छ । अहिले इन्डिपेन्डेन्ट, सर्ट र डकुमेन्ट्री फिल्म मेकर सक्रिय रूपमा सहभागी भइरहेका छन् । 

विशेषगरी युवा फिल्म मेकरमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ । फिल्ममेकरमा पहिलेझैँ ‘म यो कथा मात्र भन्छु’ भन्ने शैलीभन्दा अब ‘म एउटा सिर्जना गर्छु’ भन्ने सोचको विकास भएको छ । डकुमेन्ट्री, सर्ट फिल्म वा फिचर फिल्ममा कथामा विविधता आउन थालेको छ । यसले सिनेमाप्रतिको दृष्टिकोण परिपक्व बन्दै गएको संकेत गर्छ । तर, अर्को पाटो पनि छ । विभिन्न आन्दोलन वा समुदायसँग सम्बन्धित फिल्म मेकरलाई आवश्यक परामर्श, तालिम र क्षमता अभिवृद्धि कार्यक्रम पर्याप्त रूपमा पुग्न सकेको देखिँदैन । जनजाति चलचित्र महासंघजस्ता संस्था भए पनि फिल्म मेकरको आत्मविश्वास र दक्षता वृद्धि गर्न अझै धेरै काम गर्नुपर्ने देखिन्छ । 

फेस्टिबलमा मधेश, पूर्व, पश्चिम र सुदूरपश्चिमबाट पनि फिल्म आउनुपर्छ । मधेशबाट केही राम्रो सहभागिता देखिन्छ । यसले मधेशको कथा पनि आउन थालेको संकेत गर्छ । तर, सुदूरपश्चिमबाट भने अहिलेसम्म कथाको उल्लेखनीय उपस्थिति देखिएको छैन । पूर्वबाट पनि अपेक्षाअनुसार फिल्म आएका छैनन् । तर, यो सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न राज्यको नीतिगत सहयोग अपरिहार्य छ ।

पछिल्लो एक दशकमा यस विषयमा बहस र प्रयास भएका छन् । जसमा नेपाली फिल्म फेस्टिबलको भूमिका छ । फिल्म फेस्टिबलले निर्माता र सर्जकबिच पुलको काम गर्छ । नयाँ कथा खोज्ने र कथा भएका सर्जकलाई जोड्ने, पिचिङको अवसर दिने र सहकार्यका सम्भावना खोल्ने काम फेस्टिबलले गर्छ । यसले निर्देशक–निर्मातालाई प्रत्यक्ष लाभ पुर्याउँछ ।

फेस्टिभलका चुनौती
फिल्म फेस्टिभल नयाँ फिल्ममेकरका लागि सिक्ने थलो मात्र होइन, विश्वसँग जोडिने महत्वपूर्ण प्लेटफर्म पनि हो । यसपटक ‘निफ’ले ‘फ्युचर फरवार्ड’ नारा अघि सारेको छ । यसमा स्टुडेन्ट फिल्म अवार्ड, एआई फिल्म अवार्ड र एआईसम्बन्धी पाँचदिने कार्यशालाजस्ता कार्यक्रम समावेश छन् । यसले फिल्म निर्माणका सबै चरणमा प्रविधिको प्रयोगबारे सिकाउने लक्ष्य राखेको छ ।

यसपटक विभिन्न देशबाट आएका सयौँ फिल्ममध्ये ४० देशका ८८ फिल्म छनोट गरिएका छन् । साथै, अन्तर्राष्ट्रिय प्रतिष्ठित फिल्मकर्मीको सहभागिता पनि रहनेछ । फेस्टिबलको अन्तर्राष्ट्रिय पहुँच भने विस्तार हुँदै गएको छ । पर्याप्त स्रोत भए उत्कृष्ट फिल्म, जुरी र फिल्ममेकर ल्याउन सकिन्थ्यो । फिल्म बजार सञ्चालन गरी नेपाली कथालाई विश्व बजारमा पुर्याउने सम्भावना पनि छ । जहाँ बायर, सेलर र प्रोड्युसरलाई जोड्न सकिन्छ । यसले नेपालमा पनि ठुला प्रोजेक्ट जन्माउन सक्छ ।

फिल्म फेस्टिभल सञ्चालन गर्दा आर्थिक चुनौती छन् । सरकारले सिनेमा क्षेत्रलाई ‘सफ्ट पावर’का रूपमा बुझ्न आवश्यक छ । काठमाडौंलाई युनेस्कोको क्रिएटिभ फिल्म सिटीको रूपमा मान्यता दिइसकेको छ । सिनेमा कला, संस्कृति र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यम बन्न सक्छ । त्यसैले, चलचित्रमैत्री नीति, स्थायी बजेट र संस्थागत सहयोग आवश्यक छ । चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो एक शक्तिशाली ‘सफ्ट पावर’ हो । अझ चलचित्र समाजको सांस्कृतिक उत्पादन पनि हो । यसको क्यानभास विशाल छ, जसले विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । सिनेमा विकास हुँदा पर्यटनमार्फत आम्दानी गर्न सकिन्छ, फिल्म बेचेर कमाउन सकिन्छ, को–प्रोडक्सनबाट स्रोत भित्र्याउन सकिन्छ । नेपालमा सुटिङ गराएर पनि आर्थिक लाभ लिन सकिन्छ । यसले रोजगारी सिर्जना गर्छ, राज्यलाई राजस्व दिन्छ र धेरै क्षेत्रमा अवसर विस्तार गर्न सक्छ । 

कर्पोरेट क्षेत्र र राज्यले कला क्षेत्रलाई अझै प्राथमिकता दिएको देखिँदैन । वास्तवमा संस्कृति एउटा शक्तिशाली ‘सफ्ट पावर’ भन्ने बुझेको छैन । कुनै पनि समुदायको पहिचान उसको संस्कृतिसँग जोडिएको हुन्छ र सिनेमा त्यसको सबैभन्दा प्रभावकारी माध्यम हो । आज विश्वभर सिनेमा ‘सफ्ट पावर’का रूपमा स्थापित भइसकेको छ । देशको पहिचान, प्रचार र प्रभाव विस्तार गर्न यसको ठुलो भूमिका हुन्छ । नेपालले पनि यसलाई विकास, समृद्धि र अन्तर्राष्ट्रिय पहिचानका लागि प्रयोग गर्नुपर्छ ।

फिल्म फेस्टिबलका लागि आर्थिक स्रोत जुटाउनै मुस्किल हुन्छ । नेपालमा फेस्टिभल सञ्चालनका लागि आवश्यक सरकारी नीति, फन्डिङ एजेन्सी र स्रोतको अभाव छ । स्रोत जुटाउन निकै कठिन हुन्छ । प्रायः व्यक्तिगत प्रयास र खर्चमा कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ । यस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रम व्यक्तिगत रूपमा धान्न सकिँदैन । यसका लागि निजी क्षेत्र र अन्य संस्थाको सहकार्य आवश्यक हुन्छ ।

फेस्टिबल सञ्चालनमा हामीले स्वयंसेवकको रूपमा काम गरिरहेका छौँ । मलाई कतिपयले फेस्टिबल आयोजना गरेर ‘तपार्इँलाई फाइदा छ’ भनेको पनि सुन्छु । हामीले आर्थिक अभावका बाबजुद फेस्टिभल गरिरहेका छौँ । यो हाम्रो प्यासन बनेको छ । फेस्टिबल आयोजना गर्नु सिनेमाको ‘मुभमेन्ट’का लागि योगदान दिनु पनि हो । 

तर दुर्भाग्यवश, राज्यका निकाय ‘तपाईंहरू आफैँ टिक्नुस्’ भन्ने धारणा राखिरहेका छन् । यो निरुत्साहित गर्ने प्रवृत्ति हो । आगामी बजेटमा कम्तीमा ४–५ करोड रुपैयाँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि वार्षिक रूपमा छुट्याउनु आवश्यक छ । यसमा राज्यले पिआर र लजिस्टिकमा लगानी गरेमा कार्यक्रमको मूल्य र विस्तार दुवै स्वतः बढ्नेछ । अन्य देशले यस्ता कार्यक्रममा राज्यको ठुलो लगानीमार्फत उल्लेखनीय प्रगति गरेका छन् । फेस्टिभलका लागि हामीसँग सरकारको नीति छैन । जसले गर्दा स्रोत जुटाउन असाध्यै गाह्रो छ । 

नेपाली फिल्म उद्योग अहिले संक्रमणकालीन चरणमा छ । यसले आफ्नै पहिचान निर्माण गर्ने प्रयास गरिरहेको छ । अब नेपाली समाजको जीवनशैली, संस्कृति फिल्ममा देखिनुपर्छ । अरूको शैली नक्कल गरेर बनाइएको फिल्म प्रभावकारी हुँदैन । तपाईंको समुदायको आफ्नै प्रेम गर्ने तरिका हुन्छ, आफ्नै कथा हुन्छ । त्यसलाई नै इमानदारीपूर्वक प्रस्तुत गर्नुपर्छ । त्यसरी बनाइएको फिल्म नै सशक्त बन्छ । त्यसैले, सिनेमा केवल मनोरञ्जन होइन– यो शक्ति पनि हो । यसलाई गहनाको रूपमा होइन, राष्ट्र निर्माणको महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्छ । 

राज्यले नीति, स्रोत र संरचना निर्माणमार्फत यसलाई सशक्त बनाउनुपर्छ । ताकि, नेपाली सिनेमा विश्वमाझ अझ प्रभावकारी रूपमा उभिन सकोस् । पछिल्लो वर्षमा नेपाली फिल्म ग्लोबल मार्केटमा देखिन र सुनिन थालेका छन् । यो नेपाली चलचित्र उद्योगका लागि ठुलो उपलब्धि हो । यो फिल्ममेकरको व्यक्तिगत प्रयास र पहलको परिणाम हो । नेपाली फिल्म मेकर आफैँ नेपालको ब्रान्ड एम्बेसडरका रूपमा विश्वभर घुमिरहेका छन् । आफ्नो सिर्जनाबाट नेपाललाई चिनाइरहेका छन् । हाम्रा फिल्म मेकरले पनि आफ्ना फिल्ममार्फत अन्तर्राष्ट्रिय दर्शकसँग नेपाललाई जोड्ने महत्वपूर्ण काम गरिरहेका छन् । त्यस्ता फिल्ममेकरलाई हामीले समग्र देशकैतर्फबाट ठुलो सम्मान गर्नुपर्ने हो । यतातिर राज्यले चासो देखाएको पाइँदैन । 

(कुराकानीमा आधारित)
 

सुझावित समाचार