न्याय परिषद्को बैठक अब हरेक हप्ता बस्ने भएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी दिनमा नियमित बैठक बसेर न्यायाधीशविरुद्ध परेका उजुरीउपरको छानबिनलाई छिटो फछ्र्याैट गर्ने निर्णय गरेको छ ।
आयोगका एक सदस्यका अनुसार यसअघि परेका कतिपय उजुरीमा विस्तृत विवरण बुझ्ने निर्णय शुक्रबारको बैठकले गरेको छ । विभिन्न न्यायाधीशविरुद्ध परेका उजुरीमा कतिपय विषय अस्पष्ट रहेकाले त्यसमा थप प्रमाण बुझेर अर्काे बैठकबाट विस्तृत अनुसन्धानका लागि समिति बनाउने निर्णय भएको हो ।
न्याय परिषद्मा न्यायाधीशविरुद्धका दुई २३ उजुरी छन् । न्यायपरिषद्को निष्क्रियताले न्याय क्षेत्रमा विकृती बढेको आरोप लाग्दै आएको छ । शुक्रबारको बैठकले कमजोर प्रमाण रहेका केही उजुरी तामेलीमा पनि राखेको छ ।
परिषद्का सचिव जितेन्द्रबाबु थपलियाले शुक्रबारको बैठकबाट उजुरी उपरको छानबिनलाई तिव्रता दिने निर्णय भएको छ । ‘आजको बैठकमा नयाँ सदस्यज्यूहरुको स्वागत भयो,’ उनले भने,‘साथै सम्माननीय कामु प्रधान्यायाधीशज्यूले हरेक हप्ता परिषद्को बैठक बसेर उजुरी फछ्र्याैट गर्ने विषयमा जोड दिनुभएको छ ।’
न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम र वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी थपिएका छन् । उनीहरुको बैठकमा स्वागत गरिएको थियो । वरिष्ठ अधिवक्ताहरु महेशकुमार नेपाल तथा दामोदर खड्का सदस्य पनि आयोगको सदस्य छन् ।