पाँचथरको हिलिहाङ गाउँपालिका–५, बञ्चरेडाँडास्थित गुराँसे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार दिउँसो करिब २ बजे दोब्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च ६०२९ नम्बरको अम्लिसो (कुच्चो) बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो।
दुर्घटनापछि प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको कमान्डमा खटिएको टोलीले घाइते तीनैजनालाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो। उपचारकै क्रममा हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दीप उभरकोटी र चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली सामान्य घाइते भएका छन्। चालक बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।