आँचल शर्माको ‘एक मुठ्ठी बादल’को गीत सार्वजनिक

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘एक मुठ्ठी बादल’ले पहिलो गीत सार्वजनिक गरेको छ। ‘रेल घुम्यो घुम्तीमा’ बोलको गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन्।

सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन्। गीतले एकाघरमा रहेका तीनपुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ। सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन्। गायकको रूपमा पहिचान बनाएका सुमितले चलचित्र संगीतमा सुरुवात गरेका हुन्।

भिडियोले विवाहको अघिल्लो दिन हुने रमाइलोलाई पृष्ठभूमिको रूपमा प्रस्तुत गरेको छ। विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्नो आफ्नो जीवन भोगाइलाई गति दिएका छन्।

निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै चलचित्रको सार हो। उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको जानकारी गराउँदै गीतमा चलचित्रको कथा अटाउने चाहना चुनौतीपूर्ण रहेको स्मरण गरिन्।

सुझावित समाचार