कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेकासँग माग्यो सातदिने स्पष्टीकरण

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले अनुशासन उल्लंघनको आरोप लागेकाहरूसँग सातदिने स्पष्टीकरण माग्ने भएको छ। बुधबार बसेको अनुशासन समितिकाे बैठकले फागुन २१ गतेकाे निर्वाचनबारे परेका ५०७ व्यक्तिविरुद्धको उजुरीलाई वर्गीकरण गरी अनुशासन उल्लंघन गर्नेहरूसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

अनुशासन समितिले उजुरीलाई निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक–समर्थक बसेका, पार्टीका उम्मेदवारविरुद्ध प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारविरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्‍याएका, कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका र कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधिसभा निर्वाचनमा विपक्षीलाई सहयोग गरेका गरी पाँच प्रकारमा वर्गीकरण गरेको छ।

‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरेको भनी आरोप लागेका व्यक्तिहरूबाट सात दिनभित्र स्पष्टीकरण (सफाइ) माग गर्ने निर्णय गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टी सदस्यहरुको अनुशासन उल्लंघनको उजुरी भए चैत्र मसान्तभित्र पठाउन निर्देशनसमेत दिएको छ। तत्पश्चात प्राप्त हुने उजुरी उपर कुनै कारवाही नहुने अनुशासन समितिले प्रष्ट्याएको छ।

सुझावित समाचार