नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालित ११औँ समूहको प्रहरी विशेष कला तथा कारबाही (कमान्डाे) तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवं तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्याउनेहरूलाई प्रशंसापत्र प्रदान गरे । सो अवसरमा उनले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयपरिसरमा नवनिर्मित ‘आर्म ब्याज’ नमुना स्तम्भको अनावरणसमेत गरे ।
प्रहरी महानिरीक्षक कार्कीले सम्बोधनको क्रममा शारीरिक र मानसिक रूपमा कठिन, तर गर्व गर्न लायक यस तालिमलाई सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
तालिमको दौरानमा आर्जन गरेका ज्ञान, सिप, कौशल, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपत् तथा प्रकोपको उद्धार, आतंकवाद नियन्त्रण र विशिष्ट व्यक्तिको सुरक्षालगायतमा कोसेढुंगा सावित हुने विश्वास उनले व्यक्त गरे । तालिमको अवधिमा प्राप्त सिप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उल्लेख गर्दै दीक्षित सम्पूर्ण प्रशिक्षार्थीलाई आगामी दिनमा अनुशासित जीवनलाई अवलम्बन गर्नसमेत उनले निर्देशन दिए।