कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई सुरक्षित, निष्पक्ष र मर्यादित बनाउन सम्पूर्ण तयारी पूरा भएको छ। जिल्लाभर ३५ परीक्षा केन्द्रमार्फत नाै हजार ८८२ जना विद्यार्थी सहभागी हुने परीक्षाका लागि आवश्यक जनशक्ति, सामग्री र सुरक्षा व्यवस्थापन मिलाइसकिएको बताएको छ।कपिलवस्तुमा एसइई परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षहरू केन्द्रमा खटिसकेका छन् भने प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित स्थानमा पुगिसकेको बताएको छ । शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख चोपलाल बेल्वासेले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
उनका अनुसार प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयहरूमा पठाइसकिएको छ भने उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको छ। सदरमुकाम तौलिहवामा ६ वटा र सदरमुकाम बाहिर २९ वटा गरी कुल ३५ परीक्षा केन्द्र निर्धारण गरिएको छ। जिल्ला परीक्षा समन्वय समिति तथा केन्द्राध्यक्षहरूको अभिमुखीकरणसमेत सम्पन्न भइसकेको बताएको छ।
जिल्लाभर १७१ विद्यालयका नाै हजार ८८२ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जसमध्ये नियमिततर्फ आठ हजार ४३२ र ग्रेडवृद्धितर्फ एक हजार ४५० जना परीक्षार्थी रहेको बताइएको छ । कपिलवस्तुका प्रजिअ जनार्दन गौतमको अनुसार एसइई परीक्षा सुरक्षित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिनेछ र कुनै पनि किसिमको अनियमितता सह्य हुने छैन।
परीक्षालाई व्यवस्थित बनाउन ३५ केन्द्राध्यक्ष, ७० सहायक केन्द्राध्यक्ष, पाँच सय निरीक्षकसहित करिब साढे सात सय जनशक्ति परिचालन गरिने गौतमले बताए । यस्तै, परीक्षामा मोबाइलसहितका डिजिटल सामग्री पूर्ण रूपमा निषेध गरिएको छ। चिट, गेसपेपर, गाइडलगायतका सामग्री प्रयोग गरेको पाइएमा परीक्षा रद्दसम्म गर्न सकिने निमित्त प्रमुख बेल्वासेले बताएका छन्।