- लोडसेडिङका वेला थप ६५ प्रतिशत प्रिमियम शुल्क तिर्ने गरी उद्योगहरूले ०७२ माघदेखि ०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको विद्युत्को करिब साढे सात अर्ब बक्यौता तिर्न बाँकी
अन्तरिम सरकारका तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङ बाहिरिएसँगै अन्योलमा परेको उद्योगीको करिब साढे सात अर्बबराबरको विद्युत् बक्यौता असुलीको जिम्मेवारी अब नयाँ सरकारको काँधमा आएको छ । पछिल्लो चार महिनायता उद्योगको विद्युत् बक्यौता असुलीमा कुनै काम अघि बढेको छैन । यही अन्योलताबिच बक्यौता उठाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सरकारको काँधमा आएको हो ।
१० वर्षदेखिको बक्यौता असुल गर्ने विषयमा विगतका सरकारको अस्थिर नीति कायम रह्यो । सरकार परिवर्तन भएसँगै कुनै सरकारले बक्यौता उठाउनुपर्नेमा जोड दिए भने कपितय सरकार उद्योगीलाई नै छुट दिने योजनामा देखिन्थे । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाएका विराजभक्त श्रेष्ठ स्वतः नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पनि बनेका छन् ।
प्राधिकरणका पूर्वसञ्चालक कपिल आचार्यले अदालतको आदेश, विगतका मन्त्रिपरिषद्को निर्णय, महालेखाको प्रतिवेदन, सञ्चालक समितिका निर्णयहरूलगायतका आधारमा बक्यौता उठाउने गरी नयाँ सरकार अघि बढ्नुपर्ने बताए ।
‘विगतमा सरकारका सबै निकायले यो बक्यौता उठाउनुपर्छ भनेर निर्णय गरेको अवस्था हो । त्यसकै आधारमा नयाँ सरकारले यो बक्यौता उठाउने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘गत कात्तिकमा उद्योगीबाट पहिलो किस्ता असुली पनि भयो । त्यसपछि यसमा के–कस्तो प्रगति भएको छ भनेर प्राधिकरण र मन्त्रालयले कुनै जानकारी दिएको देखिन्न । तर, अब नयाँ सरकारले यो बक्यौतालाई प्राथमिकताका साथ असुल गर्नुपर्छ ।’
नयाँ सरकारसँग यस विषयमा आशा गर्ने ठाउँ पनि रहेको उनले बताए । ‘विगतमा प्राधिकरणले बक्यौता उठाउँदा तत्कालीन सरकारले अवरोध गरेको थियो । त्यसवेला प्रतिपक्षमा रहेका रास्वपाका अधिकांश सांसदले विद्युत् बक्यौता उठाउनुपर्छ भन्दै सरकारको खबरदारी गरेका थिए । अहिले रास्वपाकै एकल बहुमतको सरकार बनेको छ,’ उनले भने, ‘त्यो अवस्थामा वर्तमान सरकारले बक्यौता उठाउने गरी काम गर्छ भन्नेमा आशावादी छु ।’
प्राधिकरणका प्रवक्ता राजन ढकालले उद्योगीबाट बक्यौता असुल गर्ने विषयमा पछिल्लो समय कुनै काम कारबाही नभएको जानकारी दिए । ‘केही उद्योगीले दुई–तीन किस्तासम्म तिरेजस्तो लाग्छ । अहिले कुनै पनि उद्योगी किस्ता तिर्न आएका छैनन् । यो प्रक्रिया अहिले होल्डजस्तै छ,’ उनले भने, ‘अहिले मुलुकमा नयाँ सरकार बनेको छ । ऊर्जामन्त्री पनि नयाँ आइसक्नुभएको छ । अब उहाँ आएपछि छलफल गरेर यस विषयमा अघि बढ्नेछौँ ।’
लोडसेडिङका वेला प्राधिकरणले थप ६५ प्रतिशत प्रिमियम शुल्क तिर्ने सर्तमा उद्योगहरूलाई ट्रंकलाइनबाट २० घण्टा र डेडिकेटेड फिडरबाट २४ घण्टासम्म विद्युत् दिइएको थियो । त्यसरी विद्युत् प्रयोग गर्ने ग्राहक दुई सय ५० भन्दा बढी थिए । त्यसमध्ये केही उद्योगले बक्यौता तिर्न पहिलेदेखि नै आनाकानी गर्दै आएका छन् । १० असोजमा तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पुनरावलोकन प्रक्रिया अघि बढाउन नमिल्ने भन्दै सोझै बक्यौता उठाउने निर्णय गरेको थियो ।
पूर्वऊर्जामन्त्री दीपक खड्काले बक्यौता पुनरावलोकन गर्ने भन्दै सञ्चालक श्यामकिशोर यादवको संयोजकत्वमा बनाएको पुनरावलोकन समितिले सातबुँदे कारण देखाउँदै पुनरावलोकन गर्न नमिल्ने प्रतिवेदन दिएको थियो । त्यसकै आधारमा सोझै बक्यौता उठाउने निर्णय गर्दै प्राधिकरणले २८ किस्ताको सुविधासहित २ कात्तिकसम्मको अल्टिमेटम दिएको थियो । तर, उक्त अवधिसम्म पनि बक्यौता तिर्ने प्रक्रियामा नआएका ३१ मध्ये २५ उद्योगमा लाइन काटियो । बाँकी ६ उद्योगले भने पहिले नै अन्तरिम आादेश लिएका थिए ।
लाइन काट्दा पनि अधिकांश उद्योगीहरू बक्यौता तिर्ने प्रक्रियामा आएनन् । १७ कात्तिकमा प्रधानमन्त्री कार्यालयमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबिच पहिलो किस्ता तिर्ने र न्यायिक प्रक्रिया अघि बढाउने भन्ने सहमति भएको थियो । सो पहिलो किस्तालाई धरौटी मान्ने सहमति भएको उद्योगीको दाबी छ । सोही कारण उद्योगीहरू दोस्रो किस्ता तिर्न आएनन् । प्राधिकरणले पनि न्यायिक प्रक्रिया अघि बढाउन सकेन । एकाधबाहेक अधिकांश उद्योगीले मंसिरदेखिकै किस्ता तिर्न बाँकी छ ।
चुनावमा उम्मदेवार हुने भएपछि २३ पुसमा कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिए । त्यसपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनरावलोकन प्रक्रिया ब्युँत्याउने योजनामा थिए । त्यसका लागि उनले प्रधानमन्त्री कार्यालयको पत्रलाई आधार बनाउन खोजेका थिए । १७ कात्तिकको सहमतिपछि प्रधानमन्त्री कार्यालयले २१ कात्तिकमा ऊर्जा मन्त्रालयलाई गुनासो सुन्ने व्यवस्था मिलाउन भन्दै सहजीकरण गरिदिन पत्राचार गरेको थियो । तर, सञ्चालक समितिका अधिकांश सदस्यले प्रधानमन्त्री कार्यालयको नभई मन्त्रिपरिषद्को निर्णय चाहिने अडान लिएपछि शाक्यले पुनरावलोकन प्रक्रिया अघि बढाउन सकेनन् ।
त्यसमाथि तत्कालीन ऊर्जामन्त्री अनिल सिन्हाले ठोस निर्णय दिन सकेनन् । यो विषय निकै विवादमा भएकाले सिन्हाले कुनै निर्णय गर्न मानेन् । माघको पहिलो साता निर्वाचन आचारसंहिताको कारण देखाउँदै पुनरावलोकनका लागि कानुनीय राय लिने निर्णय गराएर चुप बसे । त्यसपछि यस विषयमा थप प्रक्रिया अघि बढ्न सकेको छैन ।
माघ ०७२ देखि वैशाख ०७५ सम्मको अवधिमा ५८ उद्योगले बक्यौता तिर्नुपर्ने देखिएको थियो । उनीहरूको करिब साढे सात अर्ब रुपैयाँ बक्यौता थियो । त्यसमा १२ उद्योगले सबै बक्यौता तिरेका छन् । दुई सरकारी उद्योगले बक्यौता तिर्ने लिखित प्रतिबद्धता गरेका छन् । पछिल्लो कारबाहीपछि ३५ उद्योग किस्ता तिर्ने प्रक्रियामा आएका थिए । त्यसमा रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ता तिरेपछि अन्तरिम आदेश पाएको छ । त्योअनुसार ३४ उद्योगले किस्ता तिर्नुपर्ने भए पनि सम्पर्कमा छैनन् । यीबाहेक रिलायन्ससहित सात उद्योग प्राधिकरणविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएर बसेका छन् । यसैगरी, थप तीन उद्योग बक्यौता तिर्न आएका छैनन् । सरकारी, किस्ता तिर्न छोडेका, अन्तरिम आदेश पाएका र सम्पर्कमै नरहेकासहित ४६ उद्योगको बक्यौता असुल हुन बाँकी छ । उनीहरूको बक्यौता करिब साढे सात अर्ब हुन आउँछ ।