ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

नवनियुक्त युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप हातामै आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन्। खेलकुदमन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ।

मन्त्री पोखरेलले खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेरभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउँदै सम्बन्धित सबैको दक्षताको कदर गरी खेलकुदको दीर्घकालीन विकासमा उपयोग गर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अच्युतम लामिछानेले सबै मिलेर समग्र राष्ट्रको खेलकुदलाई माथि उठाउनुपर्नेमा जोड दिँदै नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)लाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्था, राष्ट्रिय खेल संघ, कर्मचारी दरबन्दी, खेलाडीको रोकिएको पुरस्कार, मिसन– २०२६ अन्तर्गत हाल रोकिएको विशेष तयारी प्रशिक्षण, आन्तरिक स्राेत, ऐन संशोधनलगायतका विषयमा संक्षिप्त जानकारी गराएका थिए।

त्यसअघि मन्त्री पोखरेललाई सदस्यसचिव मेहता, राखेप कार्यकारी समिति र बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए।

स्वागतपछि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको निर्माणाधीन जेन–जी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाई पर्फर्मेन्स सेन्टर र पौडीपोखरीको निरीक्षण गरेका थिए।

सुझावित समाचार