कर्मचारीको नामको सेयर आफैँ खरिद गरेका सिइओ पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा अनियमितता

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पक्राउ परेका छन् । आइपिओ (इनिसियल पब्लिक अफरिङ) वितरणमा अनियमितता भएको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अर्याललाई सोमबार पुतलीसडकबाट पक्राउ गरेको हो । 

अर्यालले मातहतका कर्मचारीका लागि छुट्याइएको आइपिओ वितरणमा झेल गरी अधिकांश आफैं खरिद गरेका थिए । घटनाको सूचनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) अनुसन्धानमा उत्रिएको थियो । तर, आर्यालले बोर्डलाई मागेबमोजिमको कागजात उपलब्ध गराएका थिएनन् । अहिले उनलाई सोही अभियोगमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । ‘सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राजकुमार अर्याललाई पक्राउ परेका छन् । आइपिओ बाँडफाँटका सम्बन्धमा आवश्यक कागजात अधिकारवाला निकायलाई उपलब्ध नगराएको देखियो । गरे पनि एक ठाउँको कागजात अर्कै ठाउँमा पेस गरेको देखियो,’ उनले भने ।

इन्स्योरेन्सले २५ जेठ ०८० मा मातहतका कर्मचारीका लागि भन्दै चार लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । तर, कम्पनीका सिइओ अर्यालले कर्मचारीका लागि खुलाइएको सेयरको अधिकांश हिस्सा आफैँले खरिद गरेका थिए । जसका लागि उनले हस्ताक्षरसमेत किर्ते गरेका थिए । घटनाको सम्बन्धमा सिआइबीले ०८१ को भदौमै अनुसन्धान सुरु गरेको थियो । तर, पछि अनुसन्धान विनाकारण स्थगित गरिएको थियो । 

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, ०७४ अनुसार संगठित संस्थाले सर्वसाधारणका लागि विनियोजन गरेमध्ये ५ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याउनुपर्ने व्यवस्था छ  । ‘प्रचलित कानुनले विशेष व्यवस्था गरेकोमा बाहेक संगठित संस्थाले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये बढीमा ५ प्रतिशतसम्म संस्थामा कार्यरत करार र ज्यालादारी कर्मचारीबाहेकका कर्मचारीलाई छुट्याउन सक्नेछ,’ निर्देशिकाको दफा ५ मा भनिएको छ । कानुनको सोही प्रावधानअनुसार इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि विनियोजन गरिएमध्ये ५ प्रतिशत सेयर आफ्ना कर्मचारीका लागि छुट्यायो । इन्स्योरेन्सले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर छुट्याएको थियो । त्यसको ५ प्रतिशतले हुन आउने चार लाख ८० हजार कित्ता सेयर कर्मचारीलाई वितरण गरिनुपर्ने थियो । तर, सिइओ अर्यालले एक लाख चार हजार कित्ता सेयर किर्ते गरेर खरिद गरे । किर्ते गरेर आफूले पाउनुपर्ने हक सिइओ अर्यालले खोसेको थाहा पाएपछि इन्स्योरेन्स कम्पनीका असन्तुष्ट कर्मचारी जाहेरी लिएर सेबोन पुगे । सेबोनले घटनाको अनुसन्धान गर्यो । यसका निम्ति अर्यालसँग कागजात मागियो । तर, अर्यालले सेबोनलाई कागजात नै उपलब्ध गराएनन् । 

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०७४ को दफा ४ अनुसार संगठित संस्थाले सर्वसाधारणका लागि निष्कासन गर्नेमध्ये १० प्रतिशत सेयर वैदेशिक रोजगारमा गएकाहरूका लागि निष्कासन गर्नुपर्छ  । इन्स्योरेन्सले उनीहरूका लागि १० प्रतिशत (नौ लाख ६० हजार कित्ता) सेयर निष्कासन गर्ने निर्णय गर्यो । अंकित मूल्य एक सय र प्रिमियम एक सय ३९ रुपैयाँ निर्धारण भयो । यसरी वैदेशिक रोजगारमा गएकाहरूले सन नेपाल इन्स्योरेन्सको सेयर प्रतिकित्ता दुई सय ३९ रुपैयाँमा खरिद गर्नुपर्ने भयो । तर, इन्स्योरेन्समातहतका कर्मचारीका लागि भने अंकित मूल्य सय रुपैयाँ मात्रै निर्धारण गरियो । प्रिमियम तिर्नु नपर्ने भएपछि कर्मचारीले सर्वसाधारणभन्दा प्रतिकित्ता सेयरमा नै एक सय ३९ रुपैयाँ सस्तोमा पाउने भए  । तर, फाइदा सिइओ अर्याल एक्लैले उठाए । 

कम्पनीले ९६ लाख कित्ता सेयर निष्कासन गरेको थियो । त्यसको ५ प्रतिशत चार लाख ८० हजार कित्ता सेयर अंकित मूल्य प्रतिकित्ता एक सय रुपैयाँमा बिक्री गरिएको थियो । बाँकी मध्ये १० प्रतिशत नौ लाख ६० हजार वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोषलाई चार लाख ८० हजार र सर्वसाधारण लगानीकर्तालाई ७६ लाख ८० हजार कित्ता सेयर प्रिमियमसहित प्रतिकित्ता दुई सय ३९ रुपैयाँका दरले वितरण गरिएको थियो ।

सुझावित समाचार