जिल्ला अस्पताल संखुवासभामा हेमोडायलाइसिस सेवा सुरु

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

हिमाली जिल्ला संखुवासभाको जिल्ला अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएको छ।

सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले आइतबार संयुक्त रूपमा रिबन काटेर हेमोडायलाइसिस सेवाको औपचारिक रूपमा उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले दुर्गम जिल्ला संखुवासभामा निकै संघर्षका साथ हेमोडायलाइसिस सेवा सुरुवात गरिएको बताउँदै निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। उनले मिर्गौलाको समस्याबाट पीडितहरूले जिल्लामा नै सहज रूपमा उपचार सेवा पाऊन् भनेर हेमोडायलाइसिस सेवा सुरुवात गरिएको बताए। 

त्यसैगरी, खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले अब मिर्गौला रोगीहरूले उपचारका लागि विराटनगर, धरान वा काठमाडौंजस्ता टाढाका सहर धाउनुपर्ने बाध्यता हट्ने बताए। उनले अहिले जिल्ला अस्पतालमा हेमोडायलाइसिस सेवा सुरुवात गर्न खाँदबारी नगरपालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको बताउँदै आवश्यकताअनुसार दिगो रूपमा सञ्चालन गर्न आगामी वर्षहरूमा पनि पालिका सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा. सन्तोष देवले हिमाली जिल्ला संखुवासभामा निःशुल्क रूपमा डायलाइसिस सेवाको सुरुवात गरिएको बताउँदै दिगो रूपमा सञ्चालन गरिने बताए। ‘हामीसँग हाल अस्पतालमा पाँचवटा डायलाइसिस मेसिन जडान गरिएको छ, दैनिक रूपमा पाँचजना बिरामीको डायलाइसिस गर्न सक्छौँ। संखुवासभामा यो सेवा सुरु हुँदा पूर्वी पहाडका भोजपुर, धनकुटा र तेह्रथुमलगायतका जिल्लाका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुनेछन्,’ उनले भने।

अस्पतालका दुईजना प्राविधिक, चारजना तालिमप्राप्त नर्स तथा तीनजना चिकित्सकलाई डायलाइसिससम्बन्धी विशेष तालिमसमेत दिइएको डा. देवले जानकारी दिए। डायलाइसिस सेवा सुरुवातसँगै सूचीकृत हुने चरणमा प्रवेश गरेको अस्पतालले जनाएको छ। सूचीकृत भएपछि प्रतिबिरामी डायलाइसिस गरेबापत संघ सरकारले दुई हजार पाँच सय रुपैयाँ रकम अस्पताललाई उपलब्ध गराउँँछ।

जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न संघ सरकारको सहयोगमा पाँचवटा मेसिन उपलब्ध भएको हो। अब निरन्तर रूपमा सेवा सञ्चालन गर्न संखुवासभाका १० वटै स्थानीय तहले सहयोग गर्ने जनाएका छन्। हालसम्म खाँदबारी नगरपालिकाले सात लाख रुपैयाँ र चिचिला गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट उपलब्ध गराइसकेका छन् भने अन्य स्थानीय तहले बजेट दिने क्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ।

संखुवासभामा एक सयजना मिर्गौला रोगीहरू रहेको तथ्यांक छ। अहिले डायलाइसिस सेवा सुरुवातसँगै खाँदबारी नगरपालिका– ९, ढुंगेधाराकी ४७ वर्षीया खुसकुमारी श्रेष्ठको डायलाइसिस गरिएको छ। उनको डायलाइसिस सेवा सफल भएको डा. देवले जानकारी दिए। उनले विगत डेढ वर्षदेखि विराटनगरस्थित नोबेल अस्पतालमा नियमित डायलाइसिस सेवा लिँदै आएकी थिइन्। जिल्ला अस्पतालमा नै सेवा सुरुवात हुने भनेपछि उनी जिल्ला फर्किएर आएकी हुन्।

०३३ सालमा स्थापना भएको जिल्ला अस्पताल अहिले ५० बेडको अस्पताल भएको छ। नयाँ भवन निर्माण सम्पन्न भएसँगै विभिन्न विशेषज्ञ सेवाहरूसमेत जिल्ला अस्पतालमा थपिएको छ। दैनिक बिरामीको चाप बाक्लो हुने गरेको अस्पताल प्रशासनको तथ्यांकले देखाएको छ।

सुझावित समाचार