केपी ओली र रमेश लेखकलाई थुनामा राख्न अदालतमा अनुमति माग

रमेश लेखकलाई उपस्थित गराइयो, ओली स्वास्थ्यका कारण अस्पतालमै

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

प्रहरीले ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न अदालतमा अनुमति माग गरेको छ। प्रहरीले १० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कारणसमेत खुलाएर जिल्ला अदालतमा म्याद थपको माग गरेको हो। 

म्याद लिनका लागि आरोपीलाई समेत उपस्थित गराउनुपर्ने हुन्छ। अस्पताल भर्ना भएकाले केपी ओलीलाई भर्चुअल रूपमा उपस्थित गराउने भएको छ। उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।  पूर्वगृहमन्त्री लेखकलाई भने अदालतमै उपस्थित गराइएको छ। न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले थुनामा राख्न म्याद दिने–नदिने निर्णय गर्नेछ। 

जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरेको छ। जरुरी पक्राउ पुर्जी दिएर ओली र लेखकलाई पक्राउ गरिएको हो। गौरीबहादुर कार्की अध्यक्षताको जाँचुबझ आयोगले उनीहरूलाई १० वर्षसम्म कैद हुने गरी लापरबाहीपूर्ण ज्यान मारेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।

ओली र लेखकमाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान अघि बढाएको छ। जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरुमाथि अनुसन्धान अघि बढ्ने परिसरका एसएसपी रमेश थापा बताउँछन्। 

सुझावित समाचार