नवगठित सरकार कस्तो लाग्यो ?
झन्डै दुईतिहाइनिकट बहुमत प्राप्त सरकार बनेको छ । समावेशिताका दृष्टिले हेर्दा यो सरकार सन्तोषजनक नै छ । द्विविधा गर्नुपर्ने अवस्था खासै छैन । जनजाति, महिला तथा क्षेत्रगत प्रतिनिधित्व पनि ठिकै छ । जस्तो बने पनि यो सरकारले काम कस्तो गर्छ, त्यो नहेरी यसै भन्न सकिन्न । संसद् र सरकार दुवैतिर केही गरौँ भन्ने हुटहुटी बोकेका मानिस पुगेका छन् । उनीहरूले चाहेमा राम्रै गर्न सक्छन् । तर, सरकारले उत्तेजनामा आएर हुँदैन, संयमित भएर काम गर्नुपर्छ । अब उनीहरू प्रश्न गर्ने ठाउँमा छैनन्, जवाफ दिनुपर्ने ठाउँमा पुगेका छन् । त्यसैले, संख्याको बलमा भन्दा प्रतिपक्षीलाई पनि विश्वासमा लिएर अघि बढ्न सके राम्रो हुन्छ । ‘इमोसनल’ भएर हुँदैन, दूरदर्शिता जरुरी छ ।
यो सरकारका सजिला पक्ष के–के हुन् ?
यो सरकारसित इतिहासमै थोरैले मात्र प्राप्त गर्ने सहज बहुमत छ । राष्ट्रिय सभामा केही असहज भए पनि यो सरकारलाई प्रतिनिधिसभामा दैनिक कार्य सम्पादनमा कुनै अप्ठ्यारो छैन । प्रतिपक्षी दलहरू पनि निकै कमजोर भएकाले संसद्मा अवरोध हुने अवस्था पनि छैन ।
यसका अप्ठ्याराचाहिँ के–के हुन सक्छन् त ?
यो सरकारका लागि सडकमा हुने विरोध त्यति सहज नहुन सक्छ । सरकारमा सहभागी व्यक्ति राजनीतिक रूपमा कति परिपक्व छन्, त्यो उनीहरूले गर्ने काम र निर्णय तथा लिने नीतिबाट भविष्यमा देखिनेछ । काम गर्ने हुटहुटी भएर मात्र हुँदैन, राजनीतिक रूपमा ‘जस्टिफाई’ पनि हुनुपर्छ । संख्या ठुलो हुँदैमा मात्र सरकार टिकाउ हुन्छ भन्ने पनि छैन । यसअघि पनि हामीकहाँ बहुमतका सरकार बिचमै ढलेका उदाहरण छन् । त्यसैले, संयमित भएर अघि बढ्न नसके अप्ठ्यारो सिर्जना हुन सक्छ ।