जुम्लाको सिँजा गाउँपालिका– ६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालयको भवन निर्माण कार्य सुरु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले सिँजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न ०७९ माघ महिनामा स्वीकृत प्रदान गरेको हो।
बहुप्राविधिक शिक्षालय स्थापनाको स्वीकृत पाएपछि पहिलो चरणमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख बजेटको भवन निर्माण हुन थालेको हो। बहुप्राविधिक शिक्षालयका लागि २४ वटा भवन निर्माण गर्नुपर्ने हो। जसको डिपिआरमा ७८ करोड बजेट खर्च लाग्ने उल्लेख गरिएको छ।
सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार बहुप्राविधिक शिक्षालयका लागि विगत तीन वर्षदेखि निरन्तर पहल गरिरहेका छौँ। उनले भने, 'भारतीय दूतावाससँग पनि डेढ वर्षदेखि १९ करोड बजेटका लागि पहल भएको छ। भारतीय दूतावासमा आवश्यक सवै कागजातसहित प्रस्ताव गरिएका छौँ। अब सम्झौताका लागि दिन कुरेर बसेका छौँ।
भारतीय दूतावासले १९ करोड बजेट लगानी गरेपछि गाउँपालिकाले त्यो बजेटको ५ प्रतिशत अर्थात् करिब तीन करोड बजेट लगानी गर्नपर्ने सर्त राखेको छ। सोहीबमोजिम पहल भइरहेको गाउँपालिका अध्यक्ष धितालले बताए। उनले भने, बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि स्थानीय बासीले निःशुल्क जग्गा उपलब्ध गराएका हुन्। जग्गा पास गर्दा पालिकाले राजस्वमा बजेट लगानी गरेकाे छ।
गाउँपालिकासँग न्यून बजेट हुन्छ। पालिकाले नै लगानी गरी शिक्षालय स्थापना गर्न सक्ने अवस्था छैन। जनप्रतिनिधि र कर्मचारीका हैसियतले हामीले आवश्यक कागजात पुर्याउने र तत् तत् कार्यालय तथा मन्त्रालयमा भौतिक रूपमै पुगेर समन्वय गर्दै आएका छौँ,' उनले भने।
उनले भने, ‘भाडगाउँको दिलौरी चौरमा प्राविधिक शिक्षालय स्थापना हुनेछ। त्यसका लागि भाडगाउँका स्थानीयले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनेछन्। सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुनेछ।’
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाका अनुसार दुर्गम क्षेत्रमा बहुप्राविधिक शिक्षालय निर्माण हुनु र यहाँका विद्यार्थीले प्राविधिक शिक्षा प्राप्त गर्न पाउनु सुखद पक्ष हो। उनले भने, 'शिक्षालय निर्माणका लागि ठुलो बजेट आवश्यकता छ। यसको डिपिआर ७८ करोड बजेटको छ। तर, वार्षिक रूपमा न्यून बजेट विनियोजन हुनुले लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ।