पाँच कक्षा पढ्ने एकजना विद्यार्थी स्कुल आउँछु भनेर साथीको घर बस्न थालेको केही समय भइसकेको रहेछ । धेरैपटक नै स्कुल गयल भएपछि हामीले खोजखबर गर्यौँ । आमाबुबा नै वैदेशिक रोजगारमा भएकाले उनी मामाको जिम्मामा काठमाडौंमा बसेकी थिइन् । खोज्दै जाने क्रममा बच्चा मामाबाटै यौन दुर्व्यवहारमा परेकी रहिछिन् । त्यसपछि हामीले अभिभावकलाई घटनाबारे जानकारी गराएर मामालाई गाली गर्यौँ । अहिले त्यो समस्या समाधान भएको छ ।
कक्षा आठमा पढ्ने विद्यार्थीको बुबाआमाको अन्तरजातीय विवाह भएको रहेछ । सात कक्षासम्म राम्रो विद्यार्थी कक्षा आठमा पुगेपछि एकाएक चुपचाप बस्न थाल्यो । बुझ्दै जाँदा उसले भन्यो, ‘अचेल रातभर निद्रा लाग्दैन ।’ यसको हुनुको कारण रहेछ, ‘दाइ विदेश गयो । पैसा कमाउन थाल्यो । उसले घरमा पैसा पठाउन छाड्यो । मैले केही गर्न सकिनँ भने बुबाआमाको सपना कसले पूरा गरिदेला ?’ अर्को कारण, उनकी आमा अर्को जातको भएकाले पारिवारिक भेटघाटको क्रममा हजुरआमा, फुपूले परिवारका अन्य सदस्यसँग बसेर खाना खानसमेत नदिने रहेछ ।
कक्षाकै केटा साथीहरूले उनको शरीरका विभिन्न भाग छुने रहेछन् । अश्लील शब्द पनि प्रयोग गर्ने रहेछन् । आफ्नै साथीबाट भएको दुर्व्यवहारले उनमा पीडा भएको रहेछ । योबारेमा मैले जानकारी पाएपछि समूह मात्र हिँड्न र केही भएमा मलाई भन्नु भनेर विश्वास दिलाएँ । उसको अभिभावक बोलाएर पनि छोरीको अवस्थाको बारेमा बताएँ । कतिपय व्यवहार उमेरसँगै हर्मोन परिवर्तनका कारण हुने गर्छ भनेर सम्झाएँ । अहिले ती विद्यार्थी कक्षा आठमा पढ्दै छिन् । उनको पढाइमा पनि धेरै सुधार आएको छ ।
विद्यार्थीमा देखिने यस्ता समस्या केही उदाहरण मात्र हुन् । यस्ता धेरै समस्या विद्यार्थीमा देखिन्छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाले दिएको मनोसामाजिक परामर्श लिएपछि हामीले समिति नै बनाएर काम गरिरहेका छौँ । यसले विद्यार्थीको समस्या धेरै उजागर भएको छ । महानगरपालिकाले दुई दिनको तालिम आयोजना गर्यो । तर, त्योभन्दा धेरै काम हामीले अभ्यासमा गरिरहेका थियौँ ।
म स्कुलमा मात्र होइन, घरका बच्चाहरूसँग पनि धेरै घुलमिल हुन्छु । सरकारले निःशुल्क स्यानिटरी प्याड वितरण गर्नुभन्दा अघि नै म आफ्नो झोलामा प्याड बोकेर ल्याउँथे । विद्यार्थीलाई आवश्यक परेमा भन्नु भन्थेँ । पैसा हुनेले दिन्थे । नहुनेले दिँदैनथे । पहिले मनोसामाजिक परामर्श नै भन्ने जानकारी थिएन । तर, बच्चाको समस्यालाई बुझनुपर्छ । पढपढ मात्र भन्नु हुँदैन भन्ने थियो ।
स्कुलबाट घर जाँदा होस् अथवा घरबाट स्कुल जाँदा केही समस्या भएमा हामी छौँ भन है भन्ने गर्थेँ । त्यसैले सबैले मलाई आफ्ना कुरा भन्थे । यस्ता कुरा मैले जानेर गरेको थिइनँ । परामर्शको विधि के हो ?, के प्रश्न सोध्ने ?, के नसोध्ने ? भन्नेबारेमा जानकारी थिएन । आफ्नो अनुभवको आधारमा बच्चाको प्रतिक्रियाअनुसार काम गरेको हो ।
विद्यार्थीमा देखिने समस्या
महानगरको तालिमपछि हामीले मनोपरामर्शको कामलाई अलि व्यवस्थित बनायौँ । पहिले हामी विद्यार्थीको समस्यालाई एक्लाएक्लै समाधान गर्ने प्रयास गर्थ्यौँ । कक्षा शिक्षककै अग्रसरतामा समाधानको काम हुन्थ्यो । त्यसपछि इन्चार्ज, सहायक प्रधानाध्यपकसमेत मिलेर परामर्श दिन्थ्यौँ । अहिले समूह नै छुट्याएकाले धेरै जटिल अवस्था छ भने जो शिक्षकसँग विद्यार्थीले सहज महसुस गर्छन् । त्यही शिक्षकले परामर्श गर्छन् ।
चार–पाँच कक्षा पढ्ने विद्यार्थीमै विभिन्न मनोसामाजिक समस्या देखिएका छन् । जुन समस्या विकराल छ । विद्यार्थीमा देखिने मुख्य समस्या लभ अफेयरका कारण हुने एन्जाइटी र डिप्रेसन नै हो । छात्राहरू यौन दुर्व्यवहारका परेका घटना पनि धेरै छन् । कक्षाकै साथीले दुव्यर्वहार गर्ने, बाटोमै दुर्व्यवहारमा पर्ने, परिवारभित्रकै सदस्यबाट दुर्व्यवहार पर्नेजस्ता घटना छन् । लागुपदार्थ दुर्व्यसनीमा पसेका घटनाहरू पनि छन् ।
सोसल मिडियाको गलत प्रयोगबाट निस्किने दुर्घटना अर्को समस्या हो । हाम्रो स्कुलमा पढ्ने धेरै विद्यार्थी निम्नवर्गका विद्यार्थीहरू छन् । ती विद्यार्थीका आमाबुबा वैदेशिक रोजगारीमा छन् । ज्याला मजदुरीमा छन् । निश्चित परिवारले मात्र आफ्ना छोराछोरीलाई समय दिन्छन् । त्यसैले स्मार्ट फोनबाट हुने हानिका बारेमा उनीहरूलाई जानकारी हुन्न । बच्चालाई अनावश्यक साइटबाट हुने नकारात्मक असरबारे पनि थाहा हुन्न । बच्चाको व्यवहार राम्रो हुने, उनीहरूको आत्मविश्वास बढ्नेजस्ता कुरा आमाबुबाबाटै सिक्नुपर्ने हो । घरमै मजबुत बच्चा सधैँ मजबुत नै हुन्छ । ती काम अभिभावकबाट हुँदैन ।
यदि विद्यार्थीहरूले समस्या झेरिरहका हुन्छन् भने विद्यार्थी पढाइमा कमजोर हुन्छ । पढाइमा ध्यान हुँदैन । गुपचुप रहन्छ । ससाना कुरामा आत्तिन्छ । रोइहाल्छ । धेरै ट्वाइलेट गइरहने गर्छन् । यदि त्यस्ता विद्यार्थी देखिएमा { बोलाएर सोधिहाल्छु । त्यस्ता बच्चासँग दुई–तीनपटक कुरा गरेपछि सबै भनिहाल्छन् । कतिपयले एकैपटकमा पनि भनिसक्छन् ।
लामो समय शिक्षण पेसामा भएकाले कतिपय आफैँ आएर समस्या भनिहाल्छन् । तर, विद्यार्थीसँग बसेर कुराकानी गर्नका लागि निश्चित कोठा छैन । कक्षा भइरहेको हुन्छ, त्यही वेला कुनै शान्त ठाउँमा बोलाएर कुरा गर्छु । विद्यार्थीको गोपनीयतालाई पनि ध्यानमा राख्दै कोठाको व्यवस्था गर्नुपर्छ । परामर्शका लागि खुला ठाउँमा बच्चाले सहज अनुभव गर्दैनन् ।
समस्या देखिएका विद्यार्थीसँग कुरा गर्छु । हामीले सम्झाएर भएन भने अभिभावक बोलाएर पनि कुरा गर्छौँ । अभिभावकले पनि कुरा नबुझेको अवस्थामा विद्यालय नर्सलाई भन्छौँ । त्यसपछि पनि कुनै सुधार आउन सकेन भने कान्ति बाल अस्पतालको मानसिक विभागमा समेत पठाउँछौँ । उपचारपछि ठिक भएर सामान्य भएका पनि धेरै विद्यार्थी छन् ।
परामर्शको कारण विद्यार्थीमा धेरै फाइदा पुग्ने गरेको छ । मनोसामाजिक परामर्श भनेको गहिरो विषय हो । हामीमा यसबारे धेरै जानकारी छैन । विद्यालयमा पनि अभिभावकले सहयोग नगरेसम्म कुनै पनि समस्याको समाधान हुँदैन । विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट स्कुल बनेको हुन्छ । अभिभावकको सहयोग नभएका कारण कतिपय विद्यार्थीलाई अलपत्र छाड्नु परेको अवस्था पनि छ ।