नेकपा नेता चौधरी विस्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका मनोज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। बिहीबार जिल्ला अदालत पर्साले उनलाई थुनामा पठाउने आदेश दिएको हो।

चौधरी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको आरोपमा उनी पक्राउ परेका थिए। सोही आधारमा उनीविरुद्ध विस्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी मुद्दा दायर गरिएको छ। उनीसँगै पक्राउ परेका अन्य तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

फागुन २१ गते भएको निर्वाचनमा उम्मेदवार बनेका वीरगन्ज महानगरपालिका– १७ निवासी ४६ वर्षीय चौधरीलाई जिल्ला अदालत पर्साका इजलास नम्बर १० का न्यायाधीश कमलकान्त जोशीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्।

यसैगरी, पर्सागढी नगरपालिका– ३ निवासी ६७ वर्षीय सत्यनारायण दास थारू, बाराको प्रसौनी गाउँपालिका– ४ निवासी ३२ वर्षीय सहाब आलम अन्सारी (सवारीचालक) र धनुषाको धनुषाधाम नगरपालिका– ९, धारापानीनिवासी ३० वर्षीय सुरज कार्कीलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ। अदालतका अनुसार थारू र कार्कीलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा अन्सारीलाई दुई लाख रुपैयाँ धरौटी तोकिएको छ।

प्रहरीले गत फागुन १९ गते बा.१० च१२५० नम्बरको कारबाट विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला पारेपछि चौधरीसहित चारजनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्ध चैत ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालत पर्सामा अभियोगपत्र दायर गरेको थियो।

थुनछेक बहसपछि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश जोशीले चौधरीलाई थुनामा पठाउने आदेश दिएका हुन्। अदालतको आदेशअनुसार धरौटी बुझाउन नसकेका सत्यनारायण थारू र सवारीचालक अन्सारी पनि पुर्पक्षका लागि थुनामा रहेका छन्।

अनुसन्धानमा प्रमाण अभावको दाबी

अभियोगपत्रअनुसार प्रहरीले २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्दा पनि चौधरीविरुद्ध ठोस प्रमाण फेला पार्न सकेको देखिँदैन। अनुसन्धान प्रतिवेदनमा शंकास्पद वस्तु कहाँबाट, कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न सकेको छैन।

थुनछेक बहसका क्रममा अधिवक्ता चन्द्रिका पटेलले प्रहरीले आवश्यक प्रमाण संकलन गर्न नसकेको तर्क राख्दै चौधरीलाई साधारण तारेखमा रिहा गर्न माग गरेका थिए। उनका अनुसार चौधरीको गाडीमा विस्फोटक पदार्थ कसरी राखियो भन्ने कुरा अनुसन्धानमै खुल्न नसकेकोले घटना सुनियोजित हुन सक्ने आशंका व्यक्त गरिएको छ।

वरिष्ठ अधिवक्ता सुधीर कर्णले पनि मिसिलमा पर्याप्त प्रमाण नभएको उल्लेख गर्दै प्रमाणको आधारमा निर्णय गर्न आग्रह गरेका थिए। उनले चौधरी पक्राउ परेको स्थानमा मतदान केन्द्र वा मतगणनास्थल नभएको भन्दै निर्वाचनसम्बन्धी कसुर लागू नहुने जिकिर गरेका थिए।

उक्त मुद्दामा चौधरीको पक्षबाट अधिवक्ताहरू सुधीर कर्ण, प्रमोद साह, वीरेन्द्र यादव, सूर्य कोइराला, चन्द्रिका पटेल र रामनारायण कुर्मीले बहस गरेका थिए।

सुझावित समाचार