नेपालमा कारोबार गर्दै आएका विदेशी पुनर्बिमा दलाल कम्पनी (रि–इन्स्योरेन्स ब्रोकर)ले आफ्नो शाखा कार्यालय स्थापना गर्न आनाकानी गरेका छन् । अहिले नेपालमा ५४ वटा रि–इन्स्योरेन्स ब्रोकर कम्पनीले कारोबार गर्दै आएको भए पनि पाँचवटाले मात्रै शाखा कार्यालय सञ्चालनमा ल्याएका छन् । अन्य चारवटाले भने कार्यालय स्थापना गर्न आशयपत्र लिएको प्राधिकरणले जनाएको छ । यीबाहेक ४५ रि–इन्स्योरेन्स ब्रोकरले नेपालमा शाखा खोल्न पहल गरेका छैनन् ।
प्राधिकरणले पछिल्लोपटक पुनर्बिमा ब्रोकरलाई कार्यालय स्थापना गर्न पुस मसान्तसम्मको म्याद दिएको थियो । गत साउनमा पुनर्बिमा निर्देशिका, २०८० संशोधन गर्दै सो म्याद दिएको थियो । सो समयमा चारवटाले मात्रै शाखा कार्यालय खोल्ने आशयपत्र लिएका छन् । प्राधिकरणले जेन–जी आन्दोलनलगायतका कारण ब्रोकरले शाखा कार्यालय खोल्न नसकेको भन्दै असारसम्मको म्याद थप गरेको छ । प्राधिकरणले बिहीबार निर्देशिकाको दोस्रो संशोधन गर्दै ब्रोकरलाई असारसम्म कार्यालय खोल्न निर्देशन दिएको हो ।
‘प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बिमा दलालले ०८३ साल असार मसान्तभित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ । प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेल अधिकारीले पुनर्बिमा ब्रोकरलाई कार्यालय स्थापना गर्न असारसम्मको म्याद थप गरेको बताइन् । ‘यसअघिको म्याद पुससम्म थियो । तर, विभिन्न कारणले गर्दा त्यस अवधिमा ब्रोकरहरूले कार्यालय स्थापना गरेको देखिएन,’ उनले भनिन्, ‘त्यसपछि असारसम्मको म्याद दिएका हौँ ।’
नेपाल बिमा प्राधिकरणमा सूचीकरण भएको ६ महिनाभित्रै नेपालमा कार्यालय स्थापना गर्नुपर्ने नियम छ । तर, बिमा प्राधिकरणमा सूचीकृत ५४ विदेशी रि–इन्स्योरेन्स ब्रोकर कम्पनीमध्ये पाँचवटाले मात्रै नेपालमा शाखा कार्यालय सञ्चालन गरेका छन् ।
प्राधिकरणमा सूचीकृतमध्ये भारतको जेबी बोडा इन्स्योरेन्स एन्ड रि–इन्स्योरेन्स ब्रोकर्स प्रालिले नक्सालमा, श्रीधर इन्स्योरेन्स ब्रोकर प्रालिले टेकुमा र फस्र्ट पोलिसी इन्स्योरेन्स ब्रोकर्स प्रालिले बालुवाटारमा शाखा कार्यालय स्थापना गरेका छन् । मलेसियाको सिनर्जी रि–इन्स्योरेन्स लवुअन लिमिटेडले हात्तीसारमा र सिंगापुरको युआइबी एसिया रि–इन्स्योरेन्स ब्रोकर्स प्रालिले बखुन्डोलमा कार्यालय स्थापना गरेका छन् ।
यस्तै, एक्सपेरिट्स इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत), पायोनियर इन्स्योरेन्स तथा पुनर्बिमा ब्रोकर्स प्रालि (भारत), रिस्क केयर इन्स्योरेन्स ब्रोकिङ सर्भिसेस प्रालि (भारत) र बिकन इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)ले कार्यालय स्थापना गर्ने आशयपत्र लिएका छन् ।
नेपाली कम्पनीले विदेशी कम्पनीमा पुनर्बिमा गर्न र दाबी भुक्तानी लिन अप्ठ्यारो भएपछि ब्रोकरलाई यहाँ शाखा कार्यालय खोल्न अनिवार्य गरिएको हो । ‘पुनर्बिमा सेवा लिन नेपालका कम्पनीले धेरै दु:ख पाए । विशेषगरी पुनर्बिमा दाबी गर्ने वेलामा ब्रोकरहरू समयमा सम्पर्कमा आएनन् । कार्यालय भएको भए पनि सोझै जान सकिने थियो । तर, त्यो अवस्था भएन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘त्यसैले पुनर्बिमा ब्रोकरलाई यहाँ शाखा कार्यालय खोल्न अनिवार्य गरिएको हो ।’
व्यवसाय नहुँदा पनि कार्यालय खोल्न चाहँदैनन् ब्रोकर
नेपालमा सोचेजस्तो व्यवसाय पाउन नसकेपछि पुनर्बिमा ब्रोकरहरू शाखा कार्यालय खोल्न आनाकानी गरेको प्राधिकरणका एक अधिकारीले बताए । ‘यसबिचमा जेन–जी आन्दोलनलगायतका कारण पनि यो काम भएनजस्तो लाग्छ । तर, अर्काे कुरा के छ भने, नेपालमा यस्तो व्यवसाय घट्दै गएको छ । त्यसमाथि कम्पनी रजिस्टार कार्यालयमा दर्ता हुनुपर्छ । ५० हजार डलर रकम एयरमार्क गरेर राख्नुपर्छ,’ स्रोतले भन्यो, ‘व्यवसाय नभएको अवस्थामा ब्रोकरहरू योबराबरको लगानी गर्न आनाकानी गरिरहेको अवस्था पनि हो ।’ यसैगरी कार्यालय सञ्चालन गर्दा पनि उनीहरूको थप खर्च हुन्छ ।
बिमा कम्पनीहरूले लिएको जोखिम (व्यवसाय) सबै आफैँ धारण गर्न सक्दैनन् । त्यो अवस्थामा उनीहरूले आफूले धारण गर्न सक्ने जोखिम राखेर बाँकीको पुनर्बिमा (बिमाको पनि बिमा) गर्छन् । नेपालबाट पुनर्बिमाका लागि वार्षिक करिब १४ अर्ब रुपैयाँ बाहिरिने गरेको बिमा कम्पनीहरूको अनुमान छ । नेपाली बिमा कम्पनीले ब्रोकर वा सिधै पुनर्बिमा कम्पनीमा गएर पुनर्बिमा गर्न सक्छन् । त्यसरी नेपाली बिमा कम्पनीसँग कारोबार गर्ने रि–इन्स्योरेन्स ब्रोकर तथा पुनर्बिमा कम्पनी प्राधिकरणमा सूचीकरण हुनुका साथै नेपालमा शाखा पनि खोल्नुपर्ने व्यवस्था छ ।
बिमा कम्पनीहरूले ब्रोकरमार्फत पुनर्बिमा गरेका हुन्छन् । तर, ब्रोकरको कार्यालय नहँुदा उनीहरूलाई दाबी प्रक्रिया अघि बढाउन समस्या भइरहेको छ । त्यसमाथि दाबी प्रक्रियाको ताकेता गर्न पनि समस्या भइरहेको छ । साथै, पछिल्लो समय पुनर्बिमा कम्पनीबाट आउने दाबी भुक्तानीमा पनि ढिलाइ हुने गरेको छ । त्यस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले रि–इन्स्योरेन्स ब्रोकरलाई नेपालमा शाखा कार्यालय खोल्न कडाइ गर्न लागिएको प्राधिकरणका अधिकारी बताउँछन् ।
शाखा कार्यालय स्थापना गर्नआशयपत्र लिएका चार ब्रोकर
१. एक्सपेरिट्स इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
२. पायोनियर इन्स्योरेन्स तथा पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
३. रिस्क केयर इन्स्योरेन्स ब्रोकिङ सर्भिसेस प्रालि (भारत)
४. बिकन इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
नेपालमा कार्यालय खोल्ने विदेशी रि–इन्स्योरेन्स ब्रोकर
१. जेबी बोडा इन्स्योरेन्स एन्ड रि–इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
२. श्रीधर इन्स्योरेन्स ब्रोकर प्रालि (भारत)
३. फस्र्ट पोलिसी इस्योरेन्स ब्रोकर्स प्रालि (भारत)
४. सिनर्जी रि–इन्स्योरेन्स लवुअन लिमिटेड (मलेसिया)
५. युआइबी एसिया रि–इन्स्योरेन्स ब्रोकर्स प्रालि (सिंगापुर)
नेपालमा कार्यालय नभएका विदेशी रि–इन्स्योरेन्स ब्रोकर
१. महिन्द्रा इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (भारत)
२. अलर्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
३. विलिस इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
४. इन्टरलिंक इन्स्योरेन्स तथा पुनर्बिमा ब्रोकिङ प्रालि (भारत)
५. केएम दस्तुर एन्ड कम्पनी प्रालि (मलेसिया)
६. मनोज पुनर्बिमा ब्रोकर्स लिमिटेड (संयुक्त अरब इमिरेट्स)
७. लकटन कम्पनिज इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (चीन)
८. केएम दस्तुर पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
९. प्रोटेक्सन इन्स्योरेन्स सर्भिसेस डब्ल्युएलएल (बहराइन)
१०. सलासर सर्भिसेस इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
११. प्रुडेन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
१२. युनिलाइट पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
१३. विलिस टावर्स वाटसन इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
१४. इन्फिना पुनर्बिमा ब्रोकिङ प्रालि (भारत)
१५. फल्क्रम ग्लोबल पुनर्बिमा ब्रोकर्स प्रालि (माउरिसस)
१६. एसिई इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
१७. जेबी बोडा एन्ड कम्पनी (एस) प्रालि (सिंगापुर)
१८. जेबी बोडा एन्ड कम्पनी (युके) लिमिटेड (लन्डन)
१९. हेरिटेज इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
२०. सिम्बो ब्रोकर्स प्रालि (सिंगापुर)
२१. भारत पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
२२. झोङहुई इन्टरनेसनल इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
२३. युनिसन अनप्यारालल इन्स्योरेन्स सोलुसन्स (भारत)
२४. एलायन्स ब्रोकर्स प्रालि (भारत)
२५. जियाङ टाई इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
२६. जेके इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (भारत)
२७. इन्डिया इन्स्योर रिस्क म्यानेजमेन्ट एन्ड इन्स्योरेन्स ब्रोकिङ सर्भिसेस
२८. चेडिड युरोप इन्स्योरेन्स एन्ड पुनर्बिमा ब्रोकरेज लिमिटेड (साइप्रस)
२९. हाउडेन इन्स्योरेन्स ब्रोकर्स इन्डिया प्रालि (भारत)
३०. ल्होजोङ इन्स्योरेन्स ब्रोकर्स प्रालि (भुटान)
३१. कन्टिनेन्टल इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (चीन)
३२. एस्पायर इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
३३. विलिस लिमिटेड (लन्डन)
३४. जेनिसिस रिस्क म्यानेजर्स (माउरिसस)
३५. सिनो इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (हङकङ)
३६. के इन्टरनेसनल एएमइए लिमिटेड (संयुक्त अरब इमिरेट्स)
३७. विलिस टावर्स वाटसन ब्रोकर्स प्रालि (सिंगापुर)
३८. चार्टर गिलम्यान इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (हङकङ)
३९. टङचाङ इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
४०. टाइजरस् इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (लन्डन)
४१. एयर युनियन इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
४२. एमएनके री लिमिटेड (डिआइएफसी) (संयुक्त अरब इमिरेट्स)
४३. प्रोटेक्सन री (बहराइन)
४४. अकुर्रा इन्टरनेसनल लिमिटेड (मलेसिया)
४५. रिस्क एक्सचेन्ज (डिआइएफसी) लिमिटेड (संयुक्त अरब इमिरेट्स)