रौतापोखरीमा चैत अन्त्यबाट ‘रौतामाई–त्रियुगा महोत्सव’ हुँदै

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

उदयपुर जिल्लाको धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रौतापोखरी क्षेत्रमा पहिलोपटक पर्यटन महाेत्सव आयोजना हुने भएको छ। पर्यटन क्षेत्रको उजागर गर्ने उद्देश्यले प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव– २०८२ आगामी चैत २९ गतेदेखि आयोजना हुने भएको हो। त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सव पाँच दिनसम्म विविध कार्यक्रमसहित सञ्चालन हुने तय गरिएको छ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार महोत्सवले यस क्षेत्रको ओझेलमा परेको पर्यटन सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ। ‘रौतापोखरी केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्राकृतिक सौन्दर्यले पनि अत्यन्तै समृद्ध स्थल हो,’ उनले भने, ‘यसलाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्न सके प्रदेशकै प्रमुख गन्तव्य बन्न सक्छ।’ 

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ। समापन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित विभिन्न प्रदेश तथा स्थानीय तहका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने महोत्सव व्यवस्थापन समितिका संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

आयोजक समितिले महोत्सवलाई प्रदेशस्तरीय मात्र नभई अन्तरप्रदेशीय आकर्षणका रूपमा विस्तार गर्ने लक्ष्य राख्दै मधेश प्रदेशका सम्पूर्ण स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई निमन्त्रणा पठाइसकेको जनाएको छ। साथै कोशी प्रदेशका छिमेकी जिल्लाहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्न पहल भइरहेको छ । महोत्सव अवधिभर पर्यटक र दर्शकलाई आकर्षित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन् । प्याराग्लाइडिङ प्रदर्शन मुख्य आकर्षणका रूपमा रहनेछ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, स्थानीय परिकारको प्रदर्शनी तथा बिक्री, लोकसंस्कृति झल्काउने कार्यक्रमहरूसमेत समावेश गरिनेछन्।

यसका अतिरिक्त धार्मिक अनुष्ठान, भजन–कीर्तन, मेला तथा पूजाआराधनाका कार्यक्रमले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ।आयोजकका अनुसार यसले स्थानीय उत्पादन, हस्तकला र परम्परागत खानालाई बजार उपलब्ध गराउनेछ, जसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुर्याउने विश्वास गरिएको छ।

प्राकृतिक र धार्मिक महत्त्वले भरिएको रौतापोखरी
रौतापोखरी रौतामाई गाउँपालिका– ६ मा अवस्थित एक सुन्दर प्राकृतिक पोखरी हो। जुन समुद्री सतहबाट करिब ५९०० फिट (१७७० मिटर) उचाइमा रहेको छ। करिब एक बिघा क्षेत्रफलमा फैलिएको यो पोखरी जिल्ला सदरमुकाम गाईघाटबाट करिब २० किलोमिटर उत्तरमा पर्दछ । धार्मिक विश्वासअनुसार यहाँ स्नान तथा पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनश्रुति रहँदै आएको छ ।

पोखरीनजिकै रहेको रौता मन्दिरमा कुमारी देवी (भगवती) को दैनिक पूजा हुने गर्दछ । पोखरीछेउमा प्रत्येक नयाँ वर्षमा मेला लाग्ने गर्दछ। मन्दिरपरिसरमा विवाह, व्रतबन्ध, मकर स्नान, भजन–कीर्तन तथा साधु–सन्तहरूको धार्मिक गतिविधि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। प्राकृतिक सौन्दर्य, शीतल वातावरण, धार्मिक आस्था र साहसिक गतिविधिको संयोजनले रौतापोखरी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने सम्भावना बोकेको छ ।

सुझावित समाचार