कपिलवस्तु प्रहरीले सामाजिक सञ्जाल प्रयोग गरी धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्याउने सामग्री प्रसारण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
महराजगञ्ज नगरपालिका–२ स्थित बर्गदवामा रहेको काली मन्दिरमा चैत ७ गते ढुङ्गा प्रहार गरी तोडफोड गरिएको घटनापछि हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना भएको थियो। सो घटनालाई आधार बनाएर सामाजिक सञ्जालमा भ्रामक, उक्साहटपूर्ण तथा द्वेषपूर्ण सामग्री पोस्ट गरिएको पाइएको थियो। यसै क्रममा प्रहरीले निगरानी बढाएको थियो।
प्रहरीका अनुसार, बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय मुस्ताक नाउलाई चैत ९ गते पक्राउ गरिएको थियो। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत कपिलवस्तुले ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यस्तै, कपिलवस्तु नगरपालिका–१ का २१ वर्षीय जितेन्द्र कहारलाई चैत ११ गते पक्राउ गरिएको छ। उनीमाथि ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले भने, सामाजिक सञ्जालको दुरुपयोग गरी समुदायबीच वैमनस्य फैलाउने कार्य कानुनविपरीत हो। सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिगार्ने कुनै पनि गतिविधि सह्य हुँदैन। सबैलाई अनुरोध छ कि भ्रामक, द्वेषपूर्ण तथा उक्साहटपूर्ण सामग्री नप्रसारण गरियोस्, अन्यथा कानुनी कारबाही हुनेछ।
प्रहरीले आम नागरिकलाई संयमित अभिव्यक्ति प्रयोग गर्न र कुनै पनि अपुष्ट सूचना साझा नगर्न आग्रह गर्दै समाजमा शान्ति र आपसी भाईचारा कायम गर्न सहयोग गर्न अपिल गरेको छ।