मेची भन्सारमा आठ महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालू आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ९६ दशमलव प्रतिशत राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको फागुनसम्म कार्यालयले १२ अर्ब पाँच करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । भन्सारले  ११ अर्ब ५८ करोड ६ लाख ३१ हजार राजस्व संकलन गरेको हो । जसमा आयातबाट ११ अर्ब ३५ करोड ८२ लाख २७ हजार र निर्यातबाट २२ करोड २४ लाख चार हजार राजस्व संकलन भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । चालू आवमा भने भन्सार कार्यालयले १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । 

यस वर्षको फागुनमा पेट्रोलियम पदार्थको आयातमा वृद्धि हुँदा राजस्व संकलन बढेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । चालू आर्थिक वर्षको आठ महिनामा मेची भन्सार कार्यालयबाट १३ अर्ब ६३ करोड ५८ लाख २५ हजार मूल्यबराबरको पेट्रोलियम आयात भएको छ । यसबाट ६ अर्ब ६६ करोड ८२ लाख ६ हजार राजस्व संकलन भएको उनले बताए । 

पेट्रलियम पदार्थबाट संकलन हुने राजस्व गत आर्थिक वर्ष ०८१/८२ को फागुन मसान्तसम्मको भन्दा ८ दशमलव ९ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘विशेष गरेर फागुन महिनामा इन्धन धेरै आएका कारण राजस्व संकलन वृद्धि भएको छ । सधैँ इन्धनले कुल राजस्वको ६५ प्रतिशत ओगट्थ्यो । यस वर्ष ७५ प्रतिशत इन्धनले ओगट्यो,’ उनले भने, ‘त्यसबाहेक हामीले चोरी तस्करी नियन्त्रणका लागि निगरानी गर्यौँ । यसले राजस्व वृद्धि भयो ।’ 

आयात बढ्यो, निर्यात घट्यो
मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भारतसँगै बंगलादेश, भुटानलगायत देशसँग व्यापार हुँदै आएको छ । पूर्वीनाकाबाट आयातमा गत आर्थिक वर्ष ०८१/८२ मा फागुन मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा आयात बढेको छ भने निर्यात घटेको छ । भन्सार कार्यालयका अनुसार फागुन मसान्तसम्म गत आर्थिक वर्षको तुलनामा ११ दशमलव २१ प्रतिशतले आयात बढेको छ भने शून्य दशमलव ६४ प्रतिशतले निर्यात घटेको छ ।

आठ महिनामा ३४ अर्ब ६४ करोड ८४ लाख ९० हजारबराबरको आयात भएको छ । जबकि, गत आर्थिक वर्ष ०८१/०८२ मा यही अवधिमा ३१ अर्ब १५ करोड ४८ लाख २६ हजारबराबरको आयात भएको थियो । काँकडभिट्टाबाट चालू आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ७९ करोड १४ लाख ९० हजारबराबरको नेपाली सामग्री निर्यात भएको छ । यो गत आर्थिक वर्ष ०८१/८२ मा यही अवधिको भन्दा शून्य दशमलव ६४ प्रतिशतले कमी हो । 

सुझावित समाचार