नेमारले विश्वकप गुमाउन सक्ने

घुँडाको चोटले सताइरहेका ब्राजिलियन नेमार जुनियरले फिटनेसकै कारण अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने विश्वकप फुटबल गुमाउन सक्ने प्रशिक्षक कार्लोस एन्सोलोटीले बताएका छन्

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

ब्राजिलका स्ट्राइकर नेमार जुनियरले आगामी फिफा विश्वकप फुटबल प्रतियोगिता गुमाउने निश्चित भएको छ । प्रशिक्षक कार्लोस एन्सेलोटीले अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा नेमारलाई राष्ट्रिय टोलीमा समावेश नगर्ने संकेत गरेको ब्राजिलियन समाचार संस्था सिएनएनले खुलासा गरेको छ । ब्राजिल फुटबल संघ (सिबिएफ)ले पनि खेलाडीको चयनमा अन्तिम निर्णय प्रशिक्षकले गर्ने भनेको छ । 

सिबिएफले प्रशिक्षकको खेलाडी चयनमा कुनै हस्तक्षेप नहुने हुँदा नेमार सम्भवतः विश्वकप टोलीबाट बाहिरिन सक्ने सिएनएनले जनाएको छ । पछिल्लो समयमा नेमार चोटग्रस्त छन् । उनको फिटनेसमाथि बारम्बार प्रश्न भइरहेको छ । ब्राजिलियन क्लबबाटै व्यावसायिक फुटबल खेलिरहेका नेमार यस सिजनमा खासै मैदानमा देखिएनन् । एन्सोलोटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेका र फिटनेस भएका खेलाडीलाई मात्र जुन–जुलाईमा हुने विश्वकपमा स्थान दिने प्रस्ट पारेका छन् । 

‘अहिलेको अवस्था हेर्दा नेमारको विश्वकप खेल्ने सम्भावना छैन,’ ब्राजिलको सिएनएनले भनेको छ, ‘विशेष गरी उसको फिटनेसमाथि नै प्रश्न खडा भएको छ । यसैले टोलीमा स्थान बनाउन मुस्किल परेको देखिएको हो ।’ विश्वकपअगाडि प्रशिक्षक एन्सेलोटीले अभ्यास खेलका लागि टोली घोषणा गर्दा नेमारले स्थान बनाउन सकेनन् । विश्वकपको तयारीअगाडि ब्राजिलले फ्रान्स र क्रोएसियाविरुद्ध खेल्दै छ । 

अन्तिमपटक विश्वकप खेल्ने इच्छा
नेमारले यसै साता ब्राजिलको एक स्थानीय टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफू अन्तिमपटक विश्वकप खेल्ने इच्छा व्यक्त गरेका थिए । सन् २०१४ मा घरमै आयोजना भएको विश्वकपमा नेमार उत्कृष्ट फर्ममा थिए । त्यसवेला गम्भीर चोट बोकेका कारण उनले विश्वकप गुमाए । नेमारकै उत्कृष्ट प्रदर्शनमा ब्राजिलले १२ वर्षअघि भएको विश्वकपको सेमिफाइनल स्थान बनाए । त्यसयता नेमारको फर्म उतारचढाव भइरहेको छ । ‘मेरो चाहना सन् २०२६ मै हुने विश्वकप अन्तिम खेल्ने हो,’ नेमारले भने, ‘यो इच्छा अब पूरा हुन गाह्रो छ । विश्वकप खेल्न नपाउँदा वा टोलीमा स्थान बनाउन सकिएन भने मानसिक रूपमा तनाव सधैँ रहिरहनेछ ।’ ब्राजिलियन फुटबल संघले प्रशिक्षकको निर्णयमा केही नबोल्ने र हस्तक्षेप नगर्ने भनेपछि उनी झनै निराश बनेका हुन् । 

खुसी छैनन् प्रशिक्षक एन्सेलोटी
प्रशिक्षक एन्सेलोटीले सिनियर खेलाडीका रूपमा नेमारलाई समावेश गर्ने योनजा नबनाएका होइनन् । तर, एन्सेलोटी नेमारको फिटनेस र खेलबाट खुसी हुन सकेनन् । गत साता सान्तोष एफसी र मिरासोलबिचको प्रतिस्पर्धा हेर्न स्पेनबाटै ब्राजिल निजी विमानमा पुगेका थिए । नेमार भने सो खेलमा उपस्थित भएनन् । उनले विशेष कारण देखाउँदै मैदानमा आउन नसक्ने विज्ञप्ति निकालेका थिए । एन्सोलोटीले नेमारको फिटनेस उत्कृष्ट नभएकाले प्रतिस्पर्धा नगरेको बताए ।

सुझावित समाचार