साफ यू–२० च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको कठिन जित

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण
  • खेलको १४औँ मिनेटमै दस खेलाडीमा सीमित भएको भुटानलाई नेपालले २–१ ले हराउँदा सुजन डंगोल र सुवास बमले समान एक गोल गरे

नेपालले साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानलाई २–१ ले हराएको छ । माल्दिभ्सको मालेमा आइतबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाललाई महŒवपूर्ण तीन अंक दिलाउने क्रममा सुजन डंगोल र सुवास बमले एक गोल गरेका थिए । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको साफ यू–२० च्याम्पियनसिपमा कमजोर प्रतिद्वन्द्वीलाई हराउँदै नेपालले समूह ‘ए’ मा तीन अंक जोडेको हो । 

मालेको राष्ट्रिय रंगशालामा नेपाल र भुटानबिचको खेल १५० दर्शकले हेरेका थिए । खेलको १४औँ मिनेटमै भुटान १० खेलाडीमा सीमित भएको थियो । सुरुवातमै नेपालको भन्दा एक खेलाडी कम भए पनि भुटानले राम्रो खेल प्रदर्शन गरेको थियो । भुटानले नेपालविरुद्ध रक्षात्मक रणनीति अपनायो भने प्राप्त मौका दबाब पनि दिइरह्यो । नेपालका गोलरक्षक पेम्बा नोर्बु भोटेलाई फाउल गरेपछि भुटानका थिनले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

त्यसपछिको समयमा भुटानले नेपालविरुद्ध १० खेलाडीमै रहेर प्रतिस्पर्धा गरेको थियो । नेपालले भने विपक्षी टोलीमा एक खेलाडी कम भए पनि फाइदा लिन सकेन । नेपालले दुवै हाफमा समान एक गोल गरेको थियो । भुटानले भने नेपालमाथि दबाब राखेको देखिन्छ । यद्यपि, प्रशिक्षक उर्जेन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपालले खेलको पाँचौँ तथा ५२औँ मिनेटमा गोल गर्दै प्रतिस्पर्धामा २–० को अग्रता लिएको थियो । भुटानका लागि धेनदुप ग्याल्सेनले एक गोल फर्काएका थिए । 

पाँचौँ मिनेटमै नेपालको अग्रता 
समूह ‘ए’मा आयोजक माल्दिभ्ससँगै नेपाल, श्रीलंका र भुटान छन् । यो समूहमा भुटानलाई कमजोर रेटिङ गरेको छ । प्रशिक्षक श्रेष्ठले यसपटकको च्याम्पियनसिपमा धर्मेन्द्र कुँवरलाई कप्तानीको जिम्मेवारी दिएका छन् । उनी यू–२० राष्ट्रिय टोलीका नयाँ कप्तान हुन् । उमेर समूहमा पहिलोपटक कप्तानी गर्दै नेपाललाई जित दिलाउन पछि परेनन् । तर, नेपालले जित निकाल्न भुटानविरुद्ध धेरै मिहिनेत गर्नुपरेको थियो । यसअघि यू–२० टोलीका कप्तान सुवाष बम थिए । 

खेलको पाँचौँ मिनेटमै नेपालले भुटानका खेलाडी सेट हुन नपाउँदै १–० को अग्रता लियो । सुजनले बक्सबाट उत्कृष्ट फ्रिकिकमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । भुटानी गोलरक्षक पेन्जोरले सहकर्मीले दिएको बल हातले समातेपछि नेपालले डिबक्सअगाडि सीधैँ फ्रिकिक प्रहार गर्न अवसर पाएको थियो । सुजनले चलाखीपूर्णरुपमा गोल गरे । पहिलो हाफमा नेपालले १–० ले अगाडि रह्यो । 

खेलको ५२औं मिनेटमा सुवासले नेपालको अग्रता २–० को बनाए । उनले डिबक्स बाहिरबाट प्रहार गरेको बल सिधै गोलका रूपमा परिणत भएको थियो । खेलको ८३औँ मिनेटमा भुटानले एक गोल फर्कायो । भुटानका लागि धेनदुपले २–१ का लागि गोल गरेका हुन् । त्यसपछि भु्टानले बराबरी गोल फर्काउने निकै प्रयास गरेको थियो । तर, नेपालको डिफेन्स तोड्न भुटानले सकेन । नेपाललाई दबाबमा राखी भुटानको बराबरी गर्ने लक्ष्य सफल भएन । 

शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने
नेपालले बुधबार दोस्रो खेल श्रीलंकासँग खेल्नेछ । त्यसपछि मात्रै समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । समूह ‘बी’मा बंगलादेश, भारत र पाकिस्तान छन् । आयोजक सफलताले दुवै समूहका शीर्ष दुई सेमिफाइनलमा पुग्ने जनाएको छ । फाइनल खेल मालेमै ३ अप्रिलमा छ । प्रतियोगितमा साफका सातवटै सदस्य राष्ट्रहरूको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगिता लिग कम नकआउट अनुसार चलिरहेको छ । नेपालले यो फम्यार्टमा चलेको साफ च्याम्पियनसिप दुईपटक जितेको छ । सन् २०१५ र ०१७ मा नेपालले उपाधि जितेको थियो । भारत सर्वाधिक चारपटकको विजेता हो । 

See More On

सुझावित समाचार