पाकिस्तान सुपर लिग (पिसिएल) २०२६ दर्शकविनाको हुने भएको छ । आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले पश्चिम एसियाको अवस्था र इन्धन संकटका कारण पिसिएल दर्शकविनाको हुने जनाएको छ । लिग आगामी २६ मार्चदेखि ३ मेसम्म आयोजना हुँदै छ । पाकिस्तानले सुरुमा ६ विभिन्न सहरमा लिग हुने घोषणा गरेको थियो । अहिले इन्धन संकटका कारण केवल दुई सहरमा मात्र लिग आयोजना हुने बोर्डका अध्यक्ष मोहसिन नक्वीले जानकारी दिएका छन् । उनका अनुसार लाहोर र कराँचीमा मात्र पिसिएल हुनेछ ।
‘अमेरिका–इजरायल र इरानबिच युद्धको प्रभाव विश्वमै परेको छ । मुख्य गरी हामीले इन्धन समस्या भोगिरहेका छौँ, यसकारण पिएसएल अब दुई सहर र दर्शकविनाको हुने निर्णय गरेका छौँ,’ नक्वीले भने, ‘पश्चिम एसियाको अवस्था सुधारिएमा अन्तिम चरणमा दर्शकलाई अनुमति दिन सकिनेछ ।’ संकटका कारण इन्धन अभाव बढेपछि नक्वीले टिकट किनेका दर्शकलाई पैसा फिर्ता गर्ने जनाएको छ । यसैगरी लिगमा सहभागी फ्रेन्चाइज टोलीलाई पर्ने आर्थिक नोक्सानी क्षतिपूर्ति दिने जनाएको छ । ‘संकटका कारण तेल आपूर्तिमा समस्या भएको छ, विशेष गरी होर्मुज जलडमरुमध्यमा अवरोध भएपछि पाकिस्तानमा इन्धन अभाव बढाएको छ,’ नक्वीले भने ।
सरकारले नागरिकलाई आवतजावत कम गर्न आग्रह गर्दै विद्यालय बन्द, ‘वर्क फ्रम होम’ र बिदा बढाउने निर्णय गरेको छ । इन्धन अभावमा दर्शकसहित खेल गराउनु उपयुक्त नहुने उनको भनाइ छ । ‘दर्शकलाई आवतजावत गर्न नै मुस्किल पर्न सक्छ । फेरि इन्धन समस्या सिंगो देशमै भइरहेको छ । यसकारण बोर्डले विनादर्शक प्रतियोगिता गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘यस वर्ष खेल हुन नसकेका सहरमा अर्को वर्ष प्रतियोगिता विस्तार गरिनेछ ।’
संकटमा सहयोग गर्न सरकारकै आग्रह
पाकिस्तान सरकारले इन्धन संकटका वेला सहयोग गर्न अनुरोध गरेको छ । अत्यावश्यक परेका वेला मात्र निजी सवारीसाधन चलाउन आग्रह गरिएको छ । पाकिस्तानमा बढी इन्धन प्रयोग हुने सार्वजनिक सवारीसाधन हुन् । अहिले सरकारकै निर्देशनमा पाकिस्तानमा सार्वजनिक सवारीसाधन दिनअनुसार चल्छन् । ‘सरकारको निर्देशन पालना गरेका हौँ,’ पिसिबी अध्यक्ष नक्वीले भने, ‘लिग चलिरहँदा प्रत्येक दिन ३० हजार दर्शक रंगशाला पुग्ने अपेक्षा छ । देशमै इन्धन संकट परिरहेका वेला हजारौँ दर्शकलाई रंगशालासम्म पु¥याउन गाह्रो छ, यसकारण दुई सहरमा मात्र लिग आयोजना गर्ने निर्णय गरेका हौँ,’ पिसिबीका अध्यक्ष नक्वीले भने, ‘भविष्यमा इन्धन सुलभ हुँदा दर्शकलाई रंगशालासम्म जान अनुमति दिन सकिन्छ । तर, तत्काल यस्तो सम्भव नहुँदा दर्शकसँग बोर्ड क्षमा माग्छ ।’
लिग नछाड्न चेतावनी
बोर्डका अध्यक्ष नक्वीले पिसिएलमा आबद्ध खेलाडीलाई अन्तिम समयमा अन्य लिगमा नजान आग्रह गरेका छन् । उनले घुमारो रूपमा छिमेकी देश भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न बिचमै छाडेर नजान भनेका छन् । खेलाडीहरू खेल चलिरहेकै अवस्थामा आइपिएलमा आबद्ध भए गैरकानुनी हुने उनले बताए । ‘अन्तिम समयमा आइपिएलका लागि पिएसएल छोडेका खेलाडीविरुद्ध कानुनी कारबाही हुनेछ,’ उनले भने ।
पिसिएल छाडेर आइपिएल रोज्ने खेलाडीमा जिम्बावेका ब्लेसिङ मुजारा हुन् । त्यसपछि श्रीलंकाका दासुन सनका, वेस्ट इन्डिजका गुडाकेस मोटी, अस्ट्रेलियाका जेक फ्रेजर, स्पेन्सर जोनसन र दक्षिण अफ्रिकाका ओटनिल बार्टम्यानले पिसिएल नखेली आइपिएल खेल्ने घोषणा गरिरहेका छन् । ‘अहिलेसम्म पिएसएलसँगको सम्झौता त्यागेर आइपिएल खेल्न गएका खेलाडीलाई फर्कन आग्रह गरिएको छ । यदि सम्झौताभन्दा बाहिर गए कानुनी कारबाही हुनेछ,’ नक्वीले भनेका छन् । पिसिएलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी इस्लामाबाद युनाइटेडमा अनुबन्धित छन् ।