राखेपले एन्फाको अधिवेशन रोक्न निर्देशन दिएको छ, तर एन्फा त्यसविपरीत पूर्वनिर्धारित समयमै अधिवेशन गर्न खोजिरहेको छ । विवादले १२ चैतमा हुने नेपाल र हङकङबिचको खेलसमेत स्थगित भएको छ । यसले खेलाडीको भविष्य मात्र होइन, नेपाली फुटबलमाथि फिफाले प्रतिबन्धसमेत लगाउने जोखिम पनि बढेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्व पक्ष जसरी पनि १३ चैतमा अर्ली निर्वाचन गर्ने तयारीमा रहँदा नेपाली फुटबल विवाद उत्कर्षमा छ । उच्च अदालत पाटन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनविरुद्ध एन्फा पदाधिकारी ‘अर्ली इलेक्सन’को तयारीमा छन् । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अर्को साता जसरी पनि निर्वाचन गराउने पक्षमा छन् । ‘ए’देखि ‘सी’ डिभिजन, मोफसलका क्लब र जिल्ला फुटबल संघहरूले त्यसको विरोध गरिरहेका छन् ।
गत बिहीबार तेस्रोपटक पत्र काट्दै राखेपले एन्फालाई जिल्ला र प्रदेशपछि मात्र केन्द्रीय निर्वाचन गर्न निर्देशन दिएको थियो । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार परिषद्को स्वीकृतिविना हुने साधारणसभा र निर्वाचन मान्य नहुने भन्दै राखेपले एन्फालाई तेस्रोपटक पत्र पठाएको हो । सो निर्देशनलाई अटेर गर्दै एन्फा अघि बढेको छ ।
अर्कोतिर निर्वाचनसम्बन्धी मुद्दा उच्च अदालतमा विचाराधीन अवस्थामा छ । एन्फा र राखेपबिचको खिचातानीले खेलाडीमाथि असर परेको छ । फुटबलमा एकपछि अर्को विवाद आइरहँदा फिफाले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्ने चेतावनी दिँदै एन्फा निर्वाचन गराउने पक्षमा छ । ‘अर्ली इलेक्सनमा हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछ,’ एएफसीको पत्र उद्धृत गर्दै एन्फाले भनेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध पर्न सक्ने सम्भावनाका कारण सबैभन्दा धेरै मानसिक तनावमा खेलाडी परेका छन् ।
एन्फा नेतृत्वको कार्यशैलीबाट असन्तुष्ट २२ क्लबको रिले अनशन सातौँ दिन चलिरहेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्न नसकेको र भइरहेका प्रतियोगिता पनि व्यवस्थित नभएको भन्दै खेलाडी संघ र क्लबहरूले एन्फा मुख्यालयमा तालाबन्दी गरेका थिए ।
राष्ट्रिय लिगदेखि अन्तर्राष्ट्रिय खेल नै स्थगित
फुटबल मैदानभित्र र बाहिरको विवादको निकास दिन नसक्दा एन्फाले चालू पुरुषतर्फको राष्ट्रिय लिग तथा पहिलो संस्करणको सहिद स्मारक महिला ‘ए’ डिभिजन लिगसमेत अनिश्चितकालीन स्थगित गर्यो । पुरुष तथा महिला लिगमा विदेशी खेलाडी पर्यटक भिसामा आएको र उनीहरूले श्रम स्वीकृति नलिएको अध्यागमन विभागले जनाएको छ । विभागको पत्रपछि एन्फाले गत बिहीबार चलिरहेको प्रतियोगिता नै स्थगित गर्यो । एन्फाको यो निर्णयसँगै सयौँ खेलाडी प्रभावित बनेका छन् । साथै, पुरुष तथा महिला लिगमा सहभागी क्लब पनि आर्थिक संकटमा पर्न सक्ने सम्भावना बढेको छ ।
यसैबिच, एन्फाले १२ चैतमा हुने भनिएको नेपाल र हङकङबिचको खेल पनि स्थगित गरेको छ । एन्फाले मैत्रीपूर्ण खेल स्थगित गर्नुको दोष राखेपलाई दिएको छ । राखेपले दशरथ रंशालामा फुटबल खेलाउन स्वीकृति नदिएका कारण हङकङसँगको खेल स्थगित गर्नुपरेको प्रवक्ता सुरेश शाहले जनाएका छन् । ‘एन्फाले १० फागुनमा मैत्रीपूर्ण खेल गराउन रंगशाला र त्यसको खेलमैदानका लागि राखेपसँग स्वीकृति मागेको थियो । ३ चैतमा रंगशालाको फ्लड लाइट, स्कोर बोर्ड र अन्य पूर्वाधार उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर, खेल सञ्चालनको स्वीकृति नदिएकाले खेल स्थगित गरिएको जानकारी गराउँदछौँ,’ शाहले भनेका छन् ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले स्वीकृति दिने प्रक्रियामा रहेको बताएका छन् । एन्फाकै प्राविधिक कमिटीले हङकङसँग खेल्ने २६ सदस्यीय खेलाडीको नाम बुझाइसकेको छ । राखेपका सूचना अधिकारी खुसराज दाहालले एन्फाले आफ्नो गल्ती लुकाउन भ्रम फैलाएको बताए । खेलका लागि खेलकुद परिषद्को संघसंस्था समन्वय शाखा र रंगशाला, फ्लड लाइट, स्कोर बोर्ड र अन्य पूर्वाधार प्रयोगका सम्बन्धमा परिषद्को सामान्य प्रशासन शाखाको पत्रमार्फत नै स्वीकृति र अनुमति दिइसकेको दाहालले बताएका छन् ।
‘नेपाली खेलकुदको विकास र विस्तारका लागि क्रियाशील राष्ट्रिय खेलकुद परिषद्लाई भ्रमपूर्ण आरोप लगाई आफूले गर्नुपर्ने कार्य नगरी कमजोरी लुकाउने प्रयास बन्द गर्न राष्ट्रिय खेलकुद परिषद् जानकारी गराउँदछ । साथै, एन्फाको भ्रमपूर्ण समाचारले पार्ने असरप्रति सचेत रहन सरोकारवाला सम्पूर्णलाई आग्रह गर्दछौँ,’ दाहालले भनेका छन् । महिला लिगका चार खेल भएका छन् । पुरुष लिगका १३६ मध्ये ९७ मात्रै खेल भएका छन् । अब, दुवै लिगको टुंगो छैन ।
तनावमा खेलाडी
नेम्वाङ नेतृत्वले सहिद स्मारक लिगको साइकल एकपटक पूरा गरेको छ । पछिल्लो तीन वर्षमा एन्फाले ‘ए’ डिभिजन लिग आयोजना गर्न सकेन । आन्तरिक विवादबाट बाहिर आउन नसकेको र पदाधिकारी विदेश भ्रमणमा पहिलो प्राथमिकतामा रहँदा लिग सुचारु हुन नसकेको हो । ‘ए’ डिभिजन लिग नहुँदा राष्ट्रिय फुटबल खेलाडी विदेश पलायन भएका छन् ।
मुलुकमा फुटबल खेल्ने वातावरण नभएको र भविष्य नदेख्दा खेलाडीहरू विदेश गएको खेलाडी संघका अध्यक्ष तथा पूर्वराष्ट्रिय टोलीका सदस्य विक्रम लामाले बताए । ‘यस्तो विवादले खेलाडीलाई मानसिक रूपमै खेल्न गाह्रो भइरहेको छ,’ लामाले भने, ‘विवाद र नेपाली फुटबलको भविष्य सुनिश्चित नहुँदा खेलाडी पलायन भइरहेको र हुने क्रम जारी छ ।’ मैदानभित्र र बाहिरको तनाव खेलाडीले भोग्नुपरिरहेको उनको बुझाइ छ । पदाधिकारीबिचको विवादको असर खेलाडीमाथि नै परेको उनले बताए । ‘जहाँबाट पनि खेलाडी नै समस्यामा छन्,’ उनले भने ।
तहगत निर्वाचन गरे संकट हट्ने
नेतृत्वले तहगत निर्वाचन गरे मात्रै पनि नेपाली फुटबल ठुलो दुर्घटनाबाट बच्ने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । ‘नेपाली फुटबल गम्भीर मोडमा छ, दुर्घटनाबाट जोगाउने अन्तिम निर्णय गर्न सक्ने हैसियत तपाईंसँग मात्रै छ । त्यो भनेको तहगत निर्वाचन गर्नु हो,’ शेर्पाले एन्फा अध्यक्ष नेम्वाङलाई सुझाव दिएका छन्, ‘यो अन्तिम मौकाबाट तपाईं चुकेमा नेपाली फुटबल तपाईंले जहाँ पुर्याउनुभएको छ, त्यसबाट माथि उठाउन गाह्रो हुनेछ । जिद्दी र अहमताले आफू मात्रै होइन नेपाली फुटबल पनि दुर्घटनामा पार्ने निश्चित छ ।’
कमजोरी लुकाउने प्रयास भयो
खुशराज दाहाल, सूचना अधिकारी, राखेप
राखेपले दशरथ रंगशालामा खेल्न स्वीकृति नदिएको भन्दै एन्फाले जारी गरेको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । एन्फाले प्रकाशित गरेको विज्ञप्तिको परिषद् खण्डन गर्दछ । हामीले पत्रमार्फत नै स्वीकृति र अनुमति दिइसकेका छौँ । नेपाली खेलकुदको विकास र विस्तारका लागि क्रियाशील राखेपलाई भ्रमपूर्ण आरोप लगाई आफूले गर्नुपर्ने कार्य नगरी कमजोरी लुकाउने प्रयास बन्द गर्न राखेप अनुरोध गर्दछ ।
राखेपबाट फरक व्यवहार भयो
इन्द्रमान तुलाधार, सिइओ, एन्फा
आइतबार पनि १२ बजेसम्म राखेपमै थियौँ । बारम्बार खेलका लागि स्वीकृत मागे पनि दिइएन । हामीलाई अरू वेलाभन्दा फरक व्यवहार गरियो । सुरक्षा गार्ड ल्याएर निकाल्ने धम्की दिइयो । त्यसपछि बाध्य भएर हङकङसँगको खेल स्थगित गर्न पुग्यौँ । अब, यो खेल हुन गाह्रो छ । मैले नै राखेप पुगेर राजनीतिक कुरा एकतर्फ छ, खेल रोक्ने काम नगरौँ भन्दा स्वीकृत नै दिइएन ।
मानसिक तनावबिच खेल्न परिरहेको छ
विक्रम लामा, पूर्वखेलाडी
नेपाली फुटबलका विभिन्न विवादले खेलाडीलाई खेलेरै जीविकोपार्जनका लागि गाह्रो भएको छ । यस्ता विवादले व्यावसायिक करिअरमा पनि धक्का लाग्छ । मनोवैज्ञानिक र मानसिक रूपमा खेल्न गाह्रो हुन्छ । त्यसैले खेलाडी आफ्नो भविष्य सुरक्षित गर्न लाग्छन् । आफ्नो करिअरकै सुनिश्चितता नभएपछि खेलाडी पलायन हुने गरेका छन् ।
फिफाको प्रतिबन्धको जोखिम
फिफाले आफ्नो सदस्य संस्थामाथि तेस्रो पक्ष (सरकारी संयन्त्र)को हस्तक्षेप स्विकार्दैन । एन्फाले आफ्नो निर्देशन बारम्बार लत्याएपछि राखेप पनि वर्तमान एन्फा कमिटी भंग गरेर नयाँ तदर्थ समिति गठन गर्ने तयारीमा रहेको छ । राखेपले तीन दिनभित्र निर्वाचन रोकेर त्यसको जानकारी गराउन दिएको मिति आइतबार सकिएको छ । आइतबार राति नै एन्फा महासचिव किरण राईले तोकिएको १३ चैतमै झापामा निर्वाचन हुने राखेपलाई जानकारी गराएका छन् । यससँगै राखेप र एन्फाको विवादले उग्र रूप लिने सम्भावना देखिन्छ । तेस्रो पक्षको हस्तक्षेप हुँदा फुटबलमाथि प्रतिबन्ध हुने एन्फाले दाबी गरेको छ ।