कहिलेकाहीँ सानो गाउँको माटोमा रोपिएको सपना समयसँगै यति बलियो बन्छ कि त्यसले समाज र राजनीतिमा आफ्नै पहिचान बनाउँछ । संघर्ष, समर्पण र निरन्तरताको यही यात्रामा अघि बढेकी एक पात्र हुन– रेणुका काउचा । बागलुङको गलकोट नगरपालिका– ११, रिघामा जन्मिएकी रेणुका काउचाले स्थानीय तहमा बटुलेको अनुभव लिएर संसदीय राजनीति यात्रा तय गरेकी छिन् ।
०७४ सालको पहिलो स्थानीय तहमा निर्वाचनमा गलकोट नगरपालिकाको नगर उपप्रमुख भएर स्थानीय तहको अनुभव सम्हालेकी काउचा यसपटक देशको कानुन र नीति बनाउने स्थानमा पुगेकी छिन् । काउचा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी छिन् । जनजाति समुदायमा हुर्केर नेपाली राजनीतिमा होमिएकी काउचाको संसद् छिर्ने भने यो तेस्रो प्रयास हो ।
०७० सालमा संविधानसभामा पहिलोपटक कांग्रेसको तर्फबाट समानुपातिक सूचिमा थिइन्, तर उनी त्यसवेला सांसद बन्न सकिनन् । ०७४ मा स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको नगर उपप्रमुखको उम्मेदवार बनिन् । जिल्लामा अन्य स्थानीय तहमा एमाले, माओवादी र राजमोको जित हुँदा गलकोटमा कांग्रेसकै भरत शर्मा गैरे नगरप्रमुख र काउचा उपप्रमुख बनिन् ।
उपप्रमुख भएको वेला महिलालाई उद्यमशील बनाउने, महिला स्वास्थ्यको सुधार र सशक्तीकरणका योजना ल्याइन् । न्यायिक समितिमा साना–साना झगडाहरू गाउँमै मिलाउने प्रयास गरिन । समाजमा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै महिलालाई नेतृत्व विकास गर्नका निम्ति उनले अग्रसर भूमिका खेलिन्। उनले कार्यपालिकामा आफू उपप्रमुख भए तापनि आफूलै ल्याएका एजेन्डा कहिलेकहीँ पास नभएका कुरा पनि सुनाइन् । ‘पुरुष सदस्यले ल्याएका एजेन्डामा तत्कालै छलफल हुन्थ्यो । उपप्रमुखका कुरा पछि सर्थे । महिला भएकै कारण उपयोगी एजेन्डा ल्याएर पनि समयमा पास नभएको मेरो अनुभव छ,’ काउचाले भनिन्।
काउचाको कार्यकालमा गलकोट नगरपालिकामा महिलाहरूका लागि निकै लोकप्रिय कार्यक्रम सञ्चालन गरिन् । उनले ‘नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रम’ मार्फत गलकोटका महिलालाई उद्यमी बनाउने प्रयास गरिन् । उत्कृष्ट १० महिलालाई पुरस्कृत गरेर महिला उद्यमीको हौसला बनाउने काम गरिन् । उक्त कार्यक्रममा एब सय महिला उद्यमी बनाएर काउचाले प्रशंसा बटुलिन् ।
३० वर्षकै उमेरमा उपप्रमुख भएकी काउचा अहिले ३८ वर्षकी भइन् । एकल महिला भत्ता, दलित महिलालाई सिप विकास कार्यक्रम, सबै वडामा महिला सञ्जाल गठन, तीनै सञ्जालमार्फत सशक्तीकरणका कार्यक्रम गरेर लोकप्रियता कमाएकी थिइन् ।
पहिलो कार्यकाल सफलतापूर्वक पूरा गरेकी काउचा ०७९ सालको स्थानीय तहमो निर्वाचनमा उनी नगरप्रमुखको दौडमा थिइन् । पार्टीले पुनः नगरप्रमुखमा गैरेलाई नै उम्मेदवार बनायो, काउचाले गैरेलाई विजयी बनाउने भूमिका खेलिन् । त्यो निर्वाचनमा कांग्रेससहित पाँचदलीय गठबन्धन थियो ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा काउचा पुनः समानुपातिक सूचीमा बसिन् । त्यो समयमा पनि उनी पर्न सकिनन् । यसपटक भने देशभर कांग्रेसले हार व्यहोरेको वेला काउचा सांसद बनेकी छिन् । काउचाले स्थानीय तहमा संगालेको अनुभवलाई अब संघीय संसदमा राख्नेछिन् ।
काउचाको राजनीतिक यात्रा
०६५ सालमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तर्फबाट काठमाडाैंको सरस्वती बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्ष भएर आफ्नो राजनीतिक यात्रा सुरु गरेकी काउचा कांग्रेसको १२औँ, १३औँ र १४औँ महाधिवेशनमा उनी लगातार महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । पहिला नेविसंघमा सक्रिय काउचा मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनिन् । यो समयमा उनले देशभरका मगर विद्यार्थीबिच कार्यक्रममा पुग्ने अवसर पाइन् ।
संविधानसभा निर्वाचनको वेला समावेशिता, समानुपातिक निर्वाचन प्रणाली र महिला अधिकारको क्षेत्रमा उनले धेरै ठाउँका अन्तर्क्रियामा भाग लिने मौका पाइन् । विद्यार्थी नेतृत्वले नै राजनीतिक नेतृत्वमाझ उनी परिचित बनिन् । उनी नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत बनेकी थिइन् ।
व्यवस्थापन संकायमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी काउचाले कानुन निर्माणमा अग्रणी भूमिका खेल्न सक्ने बताउँछिन् । ‘मसँग स्थानीय तहमा संगालेको अनुभव छ, संसदमा पुगेर जनअपेक्षाअनुसारका कानुन निर्माण गर्न पहल गर्नेछु,’ काउचाले भनिन्, ‘दूरदराजका जनताका लागि कस्तो नीति तथा कानुन आवश्यक पर्छ, त्यो म नगरपालिकामा नेतृत्व लिँदा बुझेकी छु अब मेरो भूमिका गाउँमा गरिब विपन्नका लागि र सीमान्तकृत समुदायका लागि आवश्यक पर्ने नीति निर्माणमा हुनेछ । हरेक वर्गका लागि समानुकूल हुने कानुन बनाउन सकियो भने मात्रै विकासले गति लिने र अवरोधहरू हट्नेछन् ।’ उनले जेन–जी आन्दोलनपछि जनताले जे परिवर्तन खोजेका छन् । ती कुराहरूको संस्थागत गर्ने अहिलेको संसद् र अब बन्ने सरकारको दायित्व भएको बताइन् ।
काउचाले आफूले स्थानीय तहमा रहँदा भोगेका कानुनी झेललाई पनि अब सहज बनाउनका निम्ति संसदमार्फत भूमिका खेल्ने बताइन् । ‘संघले निर्माण गरेका कुनै कानुन स्थानीय तहमा बाझिएका ती सुधार गरेर अगाडि बढ्नुपर्दछ, त्यसका लागि संघीय कानुन नै सुधार गरियो भने त्यो सम्भव छ,’ काउचाले भनिन् ।
काउचाले हिजो नगरपालिकाको नेतृत्व लिँदा हरेक राजनीतिक दल र स्थानीय नेतृत्वको सल्लाहअनुसार काम गरेको र आउँदा दिनमा पनि संसदमा सबैको सल्लाहले भूमिका निर्वाह गर्ने बताइन् । उनले संसदमा जनताको चाहनाअनुसारको नीति–निर्माण गर्नमा आफ्नो भूमिका रहने बताइन् । संसदमा भने रास्वपाको बहुमत रहेका कारण कांग्रेसका सबै सांसद प्रतिपक्ष भूमिकामा हुनेछन् । त्यो भूमिकामा काउचाको प्रस्तुति अब्बल रहनेमा जिल्लाको नेतृत्व रहेको कांग्रेस बागलुङका सचिव हरिहर शर्मा बताउँछन् ।